विराटनगरवासी भन्छन्– महानगरले भौतिक विकाससँगै सुशासनमा महसुस हुनेगरी कार्य गरेको छ

विराटनगर ३० जेठ । विराटनगर महानगरपालिकाले महानगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

मंगलबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्ने वक्ताहरूले महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र सुशासनमा महसुस गर्ने गरी कार्य गरिरहेको उनीहरूको भनाइ थियो ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय राजेन्द्र पराजुलीसहित १ नम्बर वडा अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिश्चन्द सहनी, ७ का मधुबाबु तिवारी, ९ का विश्वनाथप्रसाद भगत, १० का अर्जुन गिरी र १९ का श्याम घिमिरेसमेतको उपस्थितिमा भएको कार्यक्रममा नागरिक समूहका अगुवा कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यमा महानगरवासीले महसुस गर्ने गरी कार्य भइरहेको बताउनुभयो । उहाँले उपभोक्तामैत्री नीति तथा कार्यक्रम बनाउन सुझाव दिनुभयो ।

भण्डारीले बजार अनुगमनलाई तीव्रता दिई उपभोक्ता ठगिनबाट जोगाउनुपर्नेमा जोड दिनुभयो ।

पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले महानगरले उल्लेखनीय मात्रामा बेरुजु घटाउनु महानगर नेतृत्व सुशासनमा सफल भइरहेको संकेत मिलेको तर्क गर्नुभयो । उहाँले भौतिक विकास भए पनि हरियाली बनाउने सन्दर्भमा प्रगति भइनरहेको बताउनुभयो । ढुंगेलले वृक्षारोपणलाई व्यापक बनाउनुपर्ने, महानगर मातहतका सबै स्वास्थ्य केन्द्रहरूमा औषधि उपलब्ध गराउनुपर्ने, कम विद्यार्थी संख्या भएका विद्यालयलाई मर्च गर्न सुझाव दिनुभयो ।

महानगरको ‘उज्यालो विराटनगर’ अत्यन्तै प्रभावकारी भएको उहाँले चर्चा गर्नुभयो । ‘पछिल्ला केही वर्षयता विराटनगरमा धेरै राम्रा कार्यहरू भइरहेका छन् । राम्रोलाई राम्रो भन्न सक्नुपर्छ,’ ढुंगेलले भन्नुभयो, ‘सुशासनको महसुस भएको छ । मुख्य सडकमा राति हिंड्दा मोटरसाइकलमा लाइट नबाली पनि हिंड्न सकिन्छ । विकास भनेको एकैचोटि हुने होइन । अस्ति बुटवलबाट आफन्त आउनु भएको थियो । विराटनगरको सरसफाई र उज्यालो देखेर खुसी हुनुभयो । विराटनगर धेरै परिवर्तन भएछ भन्नु भयो ।’
अभियन्ता उद्धव केसीले फुटपाथ नियन्त्रण गर्नुपर्ने, सडकमा निर्माण सामग्री राख्न रोक लगाउनुपर्नेलगायतका सुझाव दिनुभएको थियो । त्यस्तै राजनैतिककर्मी नेपाली कांग्रेस वडा नम्बर ६ का सभापति राम ढकालले सडकको पार्किङ निषेधको निर्णयबाट महानगर किन पछि हट्नु पर्यो भनेर प्रश्न गर्नुभयो । उहाँले केशलिया खोलाको छेउछाउमा माटो कटान भइरहेको, डुबान नियन्त्रण, केशलिया खोलामा फोहोर थुपार्न रोक लगाउन आग्रह गर्नुभयो ।

केशलिया खोला छेउमा विराटनगरको फोहोर थुपार्दा स्थानीयलाई समस्या भएको उहाँको भनाइ थियो । त्यस्तै युवा नेता उद्धव कोइरालाले महानगरपालिका सामान्य कुरामा अल्छिनु नहुने बताउनुभयो । उहाँले कोशी अस्पताल र उद्योगहरूको अनुगमन गरी बिरामी र मजदुरको अवस्था बुझ्न सुझाव दिनुभयो । समाजसेवी सुगल भट्टराईले परोपकार घाटमा सोलार लाइट जडान गर्न र गुद्रीमा विषादी परीक्षण मेसिन राख्न सुझाव दिनुभयो ।

भरतप्रसाद खरेलले विराटनगर–४ को खार्जी पश्चिम श्रीलंकाको टापुजस्तै भएको गुनासो गर्नुभयो । उहाँले सो क्षेत्रमा हुने डुवान नियन्त्रणका लागि पहल गर्न आग्रह गर्नुभयो । नेकपा एमालेका युवा नेता नवराज काफ्लेले मासु व्यवसायीले खसी र कुखुरा काटेर त्यसको फोहोर नालीमा फ्याल्ने गरेको बताउनुभयो । उहाँले सडकमा जेब्राक्रस बनाउनुपर्ने, शैक्षिण गुणस्तरमा ध्यान दिनुपर्ने, भौतिक पूर्वाधारको निर्माण गर्दा गुणस्तरमा ख्याल गर्नुपर्ने सुझाव दिनुभयो । सडक बत्तीहरू कम गुणस्तरको हुँदा चाँडै बिग्रिने गरेको गुनासो गर्नुभयो ।

युवा अभियन्ता प्रितम साहले युवा लक्षित कार्यक्रम र बजेट ल्याउन सुझाव दिनुभयो । अञ्जु रिजालले बालबालिका केन्द्रित कार्यक्रमहरू ल्याउनु जरुरी रहेको विचार राख्नुभयो । राधेश्याम घिमिरेले जामुनगाछी–केशलिया सडक छिटो निर्माण गर्न सहजीकरण गर्नुपर्ने, नहरको सरसफाईलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभएको थियो । राजुचन्द्र दाहालले कार्यालयको काम सुरु हुनुभन्दा अघि र विद्यालयमा पढाइ सुरु हुनुअघि कम्तीमा १० मिनेट ध्यान सञ्चालन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा मेयर नागेश कोइरालाले सीमित स्रोत र साधनको बाबजुद विराटनगरवासीको विकास र समृद्धिको चाहना परिपूर्ति गर्न लागि परेको बताउनुभयो । उहाँले भौतिक विकासका साथसाथै शिक्षा र स्वास्थ्यलाई पनि उच्च प्राथमिकता राखेर काम गरिरहेको सुनाउनभुयो । हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेको मेयर कोइरालाको भनाइ थियो । उहाँले दुई वर्षको अवधिमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ ग्राभेल, १ सय ५२ वटा कल्भर्ट निर्माण गरेको जानकारी दिनुभयो ।

मेयर कोइरालाले १ सयभन्दा बढी घरमा नगर प्रहरीले सर्प समातेर सम्बन्धित ठाउँमा व्यवस्थापन गरेको, उज्यालो विराटनगर अभियान जारी राखेको, नाला, ढल र पैनी सरसफाई अहिले पनि भइरहेको, बरगाछी–रानी सडकको सौन्दर्यकरण अभियान सुरु गरिएको, दक्षिणी क्षेत्रमा रहेको रानी प्राथमिक स्वास्थ्य केन्द्र र उत्तरी क्षेत्रमा रहेको बैजनाथपुर हेल्थ पोष्टलाई अस्पतालमा स्तरोन्नति गरेको ।

रानी अस्पतालमा फिजियो थेरापी, भिडियो एक्स–रेलगायतका सुविधा थप गरिएको जानकारी दिनुभयो । १९ वटै वडामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ५ हजार २२ जनाले स्वास्थ्य लाभ लिएको, विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको, मोतियाबिन्दु पहिचान भएकालाई तत्कालै शल्यक्रियाको व्यवस्था मिलाइएको, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई घर–घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथ औषधिसमेत वितरण गर्दै आएको, निःशुल्क एम्बुलेन्स सेवासँगै नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँगको सहकार्यमा विराटनगरवासीलाई निःशुल्क रगतसमेत उपलब्ध गराउँदै आएको बताउनुभयो ।

बेरुजुलाई शून्यमा झार्ने लक्ष्यअनुसार गत वर्षसम्मको कुल बेरुजु २३ करोड ८३ लाखको सम्परीक्षण गरिँदा कुल अंकको १ दशमलव ०३ प्रतिशत मात्रै बेरुजु आएको उहाँको भनाइ थियो । बेरुजु कम निस्कने पालिकामध्ये विराटनगर मोरङको पहिलो पालिका भएको उहाँले बताउनुभयो । शिक्षाको गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयका प्रअहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको समेत उहाँको भनाइ थियो । त्यस्तै सबै सामुदायिक विद्यालयमा पंखा जडान गर्ने कार्य पनि जारी रहेको मेयर कोइरालाले सुनाउनुभयो ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले विराटनगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको दाबी गर्नुभयो । उहाँले नियमित विद्यालय, सहकारी र विकास निर्माणको अनुगमन गरिरहेको, न्यायिक समितिमार्फत जनतालाई छिटोछरितो न्याय सम्पादन गरिरहेको सुनाउनुभयो । उपमेयर कार्कीले महानगरले भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सीमित बजेट हुँदा पनि महानगरले धेरै कार्य गरेको दाबी गर्नुभयो । उहाँले सबै वडामा अधिकृतस्तरका सचिव खटाएर धेरै काम वडा तहबाटै सम्पादन गरिरहेको जानकारी दिनुभयो ।