सुनसरीबाट १ सय ४८ किलो गाँजा बरामद

विराटनगर, १७ वैशाख । सशस्त्र प्रहरीले सुनसरीको भोक्राहानरसिंहबाट गएराति एक सय ४८ किलो गाँजा बरामद गरेको छ । ट्रकमा राखेर सुनसरीको बाटो हुँदै भारत लैजान खोजिएको लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले जानकारी दिनु भयो ।

प्रदेश १–०२–००२ ख ८६१४ नम्बरको ट्रकसहित भोक्राहानरसिंह गाउँपालिका–६ बाट गाँजा नियन्त्रणमा लिइएको उहाँले बताउनु भयो । त्यस क्रममा ट्रक चालक धनकुटाको शहीदभूमि गाउँपालिका–४ का ३६ वर्षीय हेमप्रसाद राई पनि पक्राउ परेका छन् । गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा डिआइजी गिरीले नियन्त्रणमा लिन टोली खटाउनु भएको थियो । उक्त टोलीले गाँजा, ट्रक र चालकलाई नियन्त्रणमा लिएपछि सशस्त्रलाई पैसा बुझाएर छुटाउने प्रयास गरिएको थियो । सशस्त्रलाई ‘सेटिङ’ मिलाउन भन्दै पाँच लाख ५० हजार रूपैयाँ नगद बोकेर को ४० प २२११ नम्बरको मोटरसाइकलमा आएका शहीदभूमि–२ का ३६ वर्षीय हिक्मत राई र ३५ वर्षीय आशिष राईलाई समेत पक्राउ गरिएको डिआइजी गिरीको भनाइ छ । नियन्त्रणमा लिइएको गाँजा, ट्रक र चालकलाई छाडिदिन आग्रह गर्दै सशस्त्रलाई आर्थिक प्रलोभन देखाउन थालेपछि पक्राउ परेका उनीहरुको साथबाट नगद बरामद भएको हो ।

पक्राउ परेका व्यक्तिसहित नगद, गाँजा, ट्रक र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि सशस्त्रले नेपाल प्रहरीको जिम्मा लगाएको छ । यो घटनाले सुरक्षाकर्मी आसन्न स्थानीय तह निर्वाचनमा व्यस्त भएको मौका छोप्दै अवैध धन्दा चलाउनेहरु सक्रिय बनेको पुष्टि गर्छ । तर लागुऔषध ओसारपसार लगायतका अवैध धन्दा एवम् अवाञ्छित गतिविधि नियन्त्रणमा लिन सशस्त्र सक्रिय भएर लागेको डिआइजी गिरीले बताउनु भयो ।

उहाँका अनुसार सशस्त्रलाई २४ घण्टा नै तैनाथ गरी सबै ठाउँमा निगरानी बढाउँदै उच्च सतर्कता अपनाएर निर्वाचन लक्षित सुरक्षा व्यवस्था पनि मिलाइएको छ ।