
विराटनगर २५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले वि.स. २०८२ लाई कोशी भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेको बताउनु भएको छ । उहाँले बैशाखमा अन्तर्राष्ट्रिय गुराँस महोत्सवको आयोजना गरेर यसको सुरुवात गरिने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डको आयोजनामा सुनसरीको इटहरीमा आजदेखि सुरु भएको तीनदिने इस्टर्न ट्राभल मार्ट २०२४ को उद्घाटन गर्दै उहाँले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताउनुभयो । केन्द्र सरकार र निजी क्षेत्रसँग सहकार्य गरेर प्रदेश सरकारले आगामी आर्थिक वर्ष हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला स्वर्गीय पासाङ ल्हामुको नाममा पर्वतारोहण प्रतिष्ठान स्थापना गर्ने समेत उहाँले बताउनुभयो ।
कोशी प्रदेशमा रहेका बराहक्षेत्र, पाथिभरा, हलेसीतुवाचुङ, विराटराजाको दरबार, किराँत धर्मगुरु आत्मनन्द लिङ्गदेन बसोबस गर्नुभएको क्षेत्र जस्ता हाम्रा धार्मीक, सांस्कृतीक, पुरातात्वीक तथा प्राकृतकि क्षेत्रमा पुर्वाधार विकास गर्न नीतिगत तथा बजेटको व्यवस्था गर्ने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
हिमालबाट पहाड र पहाडबाट तराई तिर झर्दै गएको र यसको प्रभावले कोशी प्रदेशका ८ जिल्लाको जनसंख्या ऋणात्मक भइसकेको प्रति चिन्ता व्यक्त गर्दै उहाले यसलाई रोक्न मध्यपहाडी लोकमार्गलाई केन्द्रीत गरेर शैक्षिक, स्वास्थ्य, र रोजगारका प्रवन्ध बढाउने योजनाका साथ प्रदेश सरकार अगाडी बढिरहेको उहाले बताउनुभयो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको जानकारीदिदै उहाले यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकारले आफ्नो हैसियतभन्दा माथि नै उठेर लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
तीनदिने मार्टमा सहभागी धनकुटा, तेह्रथुम, इलाम झापा सुनसरी, पाँचथर लगायत कोशी प्रदेशका पर्यटन व्यवसायी र पोखरा, चितवन र काठमाण्डौं लगायत कोशी प्रदेशको पर्यटनलाइ लक्षित गरी सुरु भएको मार्टमा नेपालका लुम्बिनी, वाग्मती, गण्डकी, मधेस र अन्य प्रदेशका ५० जना भन्दा बढी ट्राभल व्यवसायी साथै छिमेकी मुलुकहरु भारतको विहार, पश्चिम बङ्गाल सिक्किम प्रान्त, भुटान र बङ्गलादेश समेतका गरी ८० भन्दा बढी ट्राभल व्यवसायी, पर्यटनकर्मी, पर्यटन पत्रकार, पर्यटन अभियन्ताहरूको सहभागिता रहने बताइएको छ ।