विराटनगर २३ जेठ । कोशी प्रदेशमा विभिन्न १२ वटा खेलकुद प्रतियोगिता आयोजना गर्न तयारी थालिएको छ । प्रदेश खेलकुद विकास बोर्डले बुधबार पत्रकार सम्मेलन गरेर कार्यतालिका सार्वजनिक गर्दै प्रतियोगिता हुने स्थानका बारेमा जानकारी दिएको छ । बोर्डको आयोजनामा हुने सबै प्रतियोगिता असार १५ गतेभित्रमा सम्पन्न भइसक्ने छन् । केही प्रतियोगिता असार लाग्नसाथ र केही असार ८ गतेपछि आयोजना गरिने छ ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले अधिकांश प्रतियोगिताको मिति तथा आयोजना हुने स्थान तय भइसकेको बताए । केहीको मिति टुंगो लाग्न बाँकी छ । बस्नेतका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश खेलकुद विकास बोर्डमार्फत कार्यान्वयन हुने खेलकुद सम्बन्धी कार्यक्रममध्ये अधिकांशको कार्यतालिका र सञ्चालन मिति निर्धारण भइसकेको छ । प्रदेशका १४ वटै जिल्लालाई समेटेर आयोजना हुने खेलकुद प्रतियोगितामध्ये केहीको सम्झौता भइसकेको र केही सम्झौताको चरणमा रहेको उनको भनाइ छ । उनका अनुसार प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता असार ३ देखि ७ गतेसम्म तेह्रथुममा, कबड्डी प्रतियोगिता असार ७ देखि १० गतेसम्म मोरङमा, महिला फुटबल असार ८ देखि १३ गतेसम्म खोटाङमा, शरीरिक सुगठन असार १० देखि १२ गतेसम्म झापामा र भारोत्तोलन असार १३ देखि १५ गतेसम्म विराटनगरमा गरिने छ ।
मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता मोरङमा, प्रदेशस्तरीय पौडी प्रतियोगिता सुनसरी र मोरङमा, महिला ‘सेल्फ डिफेन्स’ (आत्मरक्षा) तथा योगा प्रशिक्षण झापा, मोरङ र सुनसरीका ३ वटा विद्यालयमा तथा प्रदेशस्तरीय कुरास प्रतियोगिता सुनसरीमा गर्ने तय भएको छ । यी प्रतियोगिता सञ्चालन गर्ने मिति भने टुंगो लाग्ने बाँकी रहेको बस्नेतले बताए । उनका अनुसार फरक क्षमता (अपांगता) भएकाहरुले खेल्ने पारा खेलकुदमध्ये क्रिकेट र पौडी प्रतियोगिता विराटनगरमा तथा बास्केटबल धरानमा हुने छ । पारा खेलकुद प्रतियोगिता सञ्चालनका लागि सम्झौता भइसके पनि मिति तय हुन बाँकी छ । कोशीमा खेलकुद प्रतियोगिता आयोजनाका लागि १ करोड ६ लाख रूपैयाँ बजेट छुट्याइएको छ ।
मोरङ र तेह्रथुममा प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिने छ । तालिम आयोजना हुने मिति तय हुन बाँकी रहेपनि असार १५ भित्रमा सक्ने तयारी रहेको उनको भनाइ छ । तालिमका लागि २० लाख रूपैयाँ बजेट छुट्याइएको छ ।
कोशी प्रदेशमा केही समयदेखि रोकिएका खेलकुदका प्रतियोगितहरु असार दोस्रो साताभित्रमा सक्ने गरी तयारी थालिएको बस्नेतले बताए । समयमै सम्पन्न गर्न नसकेका कारण बजेट ‘फ्रिज’ हुनबाट जोगाउन अब ‘फास्ट ट्रयाक’बाट प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ । सदस्यसचिव बस्नेतका अनुसार कोशीको खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजाने योजना अनुरूप आगामी नीति तथा कार्यक्रममा महत्वकांक्षी योजनाहरु समेटिएको छ । खेल क्षेत्रका लागि छुट्याइने आगामी बजेटलाई सही हिसाबले परिचालन गरिने उनले बताए ।
संस्कृति, प्रकृति र भूगोलका आधारमा हुँदै आएका र लोप हुन लागेका खेलको संरक्षण गर्ने योजना बार्डको रहेको उनको भनाइ छ ।
आगामी दिनमा राष्ट्रिय विभूतिका नामबाट समेत खेलकुदको आयोजना गरिने बस्नेत बताउँछन् । उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत मोरङको गोठगाउँमा बहुउद्देश्यीय ‘स्र्पाेट्स कम्प्लेक्स’ निर्माण सुरु गरिने छ । मेची स्टेडियम र इटहरी तथा धरानमा फ्लडलाइट जडान सुरु गरिने बस्नेतले बताए ।