विराटनगर, १६ वैशाख । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीले अघोषित लोडसेडिङ तत्काल हटाउनुपर्ने माग गरेका छन् ।
माग पूरा नभए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । तालिका बिना नै मनलाग्दी लोडसेडिङ गरिँदा औद्योगिक क्षेत्र संकटमा परेको गुनासो उनीहरुको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले तत्काल समस्याको समाधान नभए आगामी बुधबारबाट आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । समस्या सुल्झाउन विद्युत प्राधिकरणले चासो नदिएको गुनासो उद्योगी व्यवसायीको छ । विद्युत सेवा नियमित नहुँदा उद्योग तथा कलकारखाना प्रभावित हुन पुगेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताउनु भयो । ‘विद्युत सेवा ठप्प हुँदा औद्योगिक उत्पादन कटौती भएका छन्,’ उनले भने, ‘उद्योगी व्यवसायी मारमा परेका छौँ ।’
विद्युत सेवालाई निरन्तरता दिन नसक्दा प्राधिकरणको प्रतिष्ठामाथि नै प्रश्न चिन्ह खडा भएको उहाँको भनाइ छ । विद्युतका कारण उत्पादन प्रक्रिया अवरुद्ध बनेको रिजालले बताउनु भयो । उहाँका अनुसार अघोषित लोडसेडिङका कारण औद्योगिक करिडोरका कम्तीमा ५ सय उद्योग प्रभावित बनेका छन् । व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले गरेको संयुक्त पत्रकार सम्मेलनमा उद्योगी व्यवसायीले पूर्वसूचना र तालिका बिना विद्युत सेवा अवरुद्ध गरिनु गलत भएको बताए । मुलुकका विद्युत उत्पादक कम्पनीहरुले स्वदेशी विद्युत उत्पादन क्षमताको अधिकतम उपयोग गर्नुपर्ने सुझावसमेत उनीहरुको छ ।
उद्योगी व्यवसायीले विद्युत वितरण समानुपातिक हुनुपर्ने, विद्युत डिमाण्ड शुल्क खारेज गरिनुपर्ने, विद्युतमा देखिएको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने, औद्योगिक क्षेत्रमा भइरहेको क्षतिलाई कम गर्नेतर्फ ध्यान दिनुपर्ने लगायतका माग राखेका छन् । उनीहरुले आपूर्ति नियमित नभएर समग्र औद्योगिक क्षेत्र प्रभावित बनेका बेला विद्युत डिमाण्ड शुल्क लगाउन नहुने धारणा पनि राखेका छन् ।
समस्या समाधानतर्फ चासो नदिएर विद्युत प्राधिकरणमा तालाबन्दी गर्नेसम्मको चेतावनी उनीहरुले दिएका छन् ।