सहकारीले कच्चा उद्योग संचालन गरे सरकार ग्यारेन्टी बस्न तयार : मुख्यमन्त्री कार्की

विराटनगर १९ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीले कच्चा उद्योग संचालन गरे सरकार ग्यारेन्टी बस्न तयार रहेको बताउनु भएको छ ।

उद्योगको लागि आवस्यक कच्चा पदार्थ उत्पादनको लागि सहकारीले कच्चा उद्योग संचालन गर्ने हो भने सरकार ग्यारेन्टी बस्ने उहाँको भनाई छ ।

आज विराटनगरमा भएको सहकारी सस्थाहरु सु–संचालनमा सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘ सहकारीले कच्चा उद्योग संचालन गरे रोजगार सिर्जना हुने र उद्योगलाई कच्चा पदार्थ बाहिरबाट ल्याउनुपन्ने बाध्यता पनि हट्ने थियो ।’ सरकारले सहकारीसँगको सहकार्यमा बर्षको एउटा कच्चापदार्थ उद्योग संचालन गर्न सकियो भने बिस्तारै रोजगारी सिर्जना बढ्दै जाने र सहकारी प्रतिको नकारात्मक धारणा पनि हट्दै जाने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ सहकारी भनेपछी जे पनि गन्र्न मिल्ने चलन बस्यो । गरिबी उत्थानको लागि खोलिएका सहकारी धनिले धन कमाउने अखडा जस्तो भयो ।’ पैसा जम्मा गर्दा थोरै थोरै हुने र झिक्दा धेरै हुने भएकाले सबै एकै पटक माग्न आउदा सहकारी मात्र हैन बैंकले नि फिर्ता दिन नसक्ने बताउदै मुख्यमन्त्री कार्कीले कतिपय सहकारी अफवाहका कारण पनि समस्यामा आएको बताउनुभयो । कोशी प्रदेशका सहकारीको बिकासको लागि र समस्या आउन नदिनको लागि पनि सरकारले ध्यान दिनेमा उहाँले जोड दिनुभयो ।

रास्ट्रसेवक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रममा सहकारी अभियान्ता तथा स्थानीय तहका सहकारी शाखा हेर्ने कर्मचारीहरुको सहभागीता रहेको थियो ।