भजन किर्तन प्रतिष्पर्धामा ज्योती नगर भजन समूह प्रथम

विराटनगर १५ जेठ । सहभागी ४१ समूहलाई पछि पार्दै विराटनगर– ४ को ज्योती नगर भजन समूह प्रथम भएको छ ।

नेकपा एमाले विराटनगर–४ ले गणतन्त्र दिवसको अवसरमा संस्कृति र संस्कार संरक्षण गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा वडा भित्रका ४२ वटा भजन समूहले सहभागिता जनाएका थिए । ती मध्ये प्रथम हुँदै ज्योती नगरले प्रथम हुँदै नगद १५ हजार प्राप्त गरेको छ । श्यामसुन्दर भजन समूहले दोस्रो हुँदै नगद १० हजार र श्री किशन भजन समूहले तेस्रो हुँदै नगद ५ हजार प्राप्त गर्‍यो । तीनवटै समूहका तर्फबाट क्रमशः बिमला बुढाथोकी, लिला बास्तोला र गायत्रा नेउपानेले पुरस्कार र प्रमाणपत्र ग्रहण गर्नुभयो ।

बटुकहरूद्वारा स्वस्ती वाचन र शंखघोष सहित कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । उहाँले भजन किर्तनले ब्यक्तिलाई अनुशासित बन्न अभिप्रेरित गर्दै संस्कारयुक्त आचरणमा बस्न प्रोत्साहन गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका नेता विनोद ढकाल, खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पर्शुराम बस्नेत , एमाले नेतृ सरस्वती भण्डारी, एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की, विराटनगर महानगर अध्यक्ष सागर थापा, वडा अध्यक्ष जितन थापा, प्रेस चौतारी मोरङ अध्यक्ष सुदिप कोइरालालगायतको उपस्थिति थियो ।

४२ समूहबाट करिब ५०० जनाले प्रत्यक्ष सहभागिता जनाएको प्रतियोगितामा विभिन्न धर्म सम्प्रदाय सँग सम्बन्धित भजनहरू प्रस्तुत भएका थिए । सहभागी सबै समूहलाई नगद १ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिएको एमाले वडा अध्यक्ष नवराज काफ्लेले बताउनुभयो ।

प्रतियोगितामा भजन शिरोमणी माधव घिमिरेको नेतृत्वमा तीन सदस्यीय निर्णायक मण्डल रहेको थियो ।