विराटनगरबाट २३ जनाद्धारा उम्मेदवारी फिर्ता, यादव र न्यौपानेले फिर्ता गरेनन्

विराटनगर, १६ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका तीनसहित २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।


जनता समाजवादी पार्टीबाट विद्रोह गरि मेयरमा उम्मेदवारी दिएका उमेश यादव र उपमेयरमा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नमिता न्यौपानेको भने उम्मेदवारी कायमै राखेका छन् ।

मेयरमा उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, नेपाल परिवार दलका महेश निरौला र स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी केन्द्रकी केमुना ओडारी मैनाली र उपप्रमुखका उम्मेदवारी दिएका उद्धबप्रसाद कोइराला र परिवार दलका दिपक पोखरेलले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । गत वैशाख ११ र १२ गते उम्मदेवारी दर्ता गरेकाहरुका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय भित्र उम्मेदवारी फिर्ता लिन आयोगले समय दिएको थियो ।

महानगरमा स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका ८ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।