उपमेयर उम्मेदवार शिल्पा कार्कीविरुद्धको उजुरी खारेज

विराटनगर, १६ वैशाख । विराटनगर महानगरपालिकामा नेकपा (एमाले)का तर्फबाट उपमेयरको उम्मेदवार बनेकी शिल्पा निराला कार्कीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार विराटनगरमा मनोनयन दर्ता गराएका ४ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । सबै उजुरी आज खारेज गरिएको र उम्मेदवारी सदर गरिएको जानकारी उहाँले दिनु भयो । ४३ वर्षीया कार्की कोसी अस्पताल विकास समितिकी सदस्यमा बहाल रहेको भन्दै सत्तारुढ गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका अमेरन्द्र यादवले उजुरी दिनु भएको थियो ।

एमालेले विराटनगरमा सागर थापालाई मेयर र कार्कीलाई उपमेयरको उम्मेदवार बनाएको छ । कार्कीले भने नेकपा (एमाले)ले चुनाव जित्छ र महानगरको विकास तीव्र रूपमा गर्छ भन्ने बुझेकाहरुले आत्तिएर आफूविरुद्ध उजुरी दिएको बताउनु भयो । सिके राउत नेतृत्वको जनमत पार्टीबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिनु भएकी विराटनगर महानगरपालिका–८ की ४१ वर्षीया गीता मुखियाको पनि उम्मेदवारी सदर भएको छ । मुखिया जाति दलितभित्र नपर्ने भनेर उजुरी परेको थियो । सोही वडामा कांग्रेसबाट दलित महिला सदस्यका लागि उम्मेदवारी दिनु भएकी ३६ वर्षीय शशिता सहनीविरुद्ध परेको उजुरी पनि खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार सहनी दलितभित्र नपर्ने दाबी उजुरीमा गरिएको थियो । विराटनगर–१३ मा एमालेबाट महिला सदस्य पदमा उम्मेदवारी दिएकी ५० वर्षीया गौरीकुमारी वैश्यविरुद्ध परेको उजुरी पनि खारेज भएको बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार वैश्यले अदालतले तोकेको दण्ड जरिवाना नबुझाएको भनेर उजुरी परेको थियो ।

मोरङमा ९ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो । केराबारी गाउँपालिका–१ बाट महिला सदस्य पदमा एमालेबाट उम्मेदवारी दिनु भएकी ४७ वर्षीया पवित्रा लिम्बूको भने उम्मेदवारी खारेज भएको छ । लिम्बूको उम्मेदवारीमाथि दाबीविरोध परेकोमा आवश्यक छानबिनपछि उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालय केराबारीका प्रमुख भानुभक्त न्यौपानेले जानकारी दिनु भायो ।

लिम्बू केराबारी गाउँपालिकाको महिला स्वंयमसेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै उजुरी परेको थियो । केराबारीमा एमालेका ४ उम्मेदवारविरुद्ध उजुरी परेको थियो । अन्य ३ जनाले सफाइ पाएका छन् । एमालेबाट केराबारी गाउँपालिका–८ को वडाअध्यक्षमा उम्मेदवारी दिएका ५७ वर्षीय टीकाराम चापागाईं, वडा सदस्यका उम्मेदवार २७ वर्षीय दिलबहादुर राई र दलित महिला सदस्य पदकी उम्मेदवार ३७ वर्षीया सन्तोषी सार्कीविरुद्धको उजुरी भने खारेज भएको न्यौपानेको भनाइ छ । उहाँका अनुसार उजुरी खारेज गरिएका ३ जनाकै उम्मेदवारी सदर भएको छ ।