सहकारी संघ संस्थाको शान्ति सुरक्षाको माग गदैै सहकारी संघद्धारा मोरङका प्रजिअलाई ज्ञापनपत्र

विराटनगर ,बैशाख २६ । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु बढेकोले उक्त कार्य नियन्त्रण गर्न र दोषी पत्ता लगाई कार्वाहीको माग राख्दै जिल्ला सहकारी संघले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

संघका जिल्ला अध्यक्ष डा.डिल्ली पोखरेल नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाएको हो । प्रजिअ भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष डा.पोखरेलले जिल्लाका विभिन्न स्थानमा संचालन भइरहेका सहकारी संस्थामा तोडफोड गरि नगद तथा भौतिक सामान चोरी गर्ने,कर्मचारीलाई कुटपिट र अभद्र व्यवहार गर्ने जस्ता कार्य बढीरहेकोले उक्त कार्य नियन्त्रण गरि शान्ति सुरक्षाको प्रत्याभुत गर्न र त्यस्ता कार्यमा संलग्न रहेकाको खोजी गरि कार्वाही गर्न माग गरेका थिए ।

संघले बुझाएको ज्ञापन पत्रमा जिल्लाका एक दर्जन वढी सहकारी संस्थामा चालु आ.व.२०८०/८१ को साउनदेखि यहि बैशाख ५ गतेसम्म तोडफोड गरि नगद तथा सामान चोरी भएकोले उक्त घटनामा संलग्नलाई खोजी गरि कार्वाही गर्न र चोरी भएका सहकारी संस्थाको रकम तथा सामाग्रीको क्षतीपूर्ति दिलाउन माग गरिएको छ । साथै निरन्तर भइरहेका यस्ता गतिबिधिहरुका कारण सहकारी संघ÷संस्थाहरुको संचालन प्रकृयामा नै गम्भीर समस्याहरु देखा परिरहेकोले तत्काल शान्ति सुरक्षा मजबुद बनाउनसमेत संघले ज्ञापन पत्र मार्फत माग गरेको छ ।

ज्ञापन पत्रमा उल्लेख भए अनुसार रतुवामाई न.पा–६ मा रहेको सौठा बचत तथा ऋण सहकारी संस्था लि.मा दुई पटक चोरी भएको, सोहि वडाको सुनगाभा बचत तथा ऋण सहकारी संस्था शनिश्चरे, जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. कानेपोखरी–७, आदर्श बचत तथा ऋण सहकारी संस्था लि. कानेपोखरी–६, सिंद्देश्वर बचत तथा ऋण सहकारी संस्था लि. पथरीशनिश्चरे, एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लि. लेटाङ –२ फडानी र खैरेनी सेवा केन्द्रमा चोरी भएको जनाइएको छ । त्यस्तै जनप्रेमी बचत तथा ऋण सहकारी संस्था लि. वेलावारी –८ राधानगर, जिल्ला बचत तथाऋण सहकारी संघ लि. बेलवारी–३, लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लि. बेलवारी–३, झलझली बचत तथा ऋण सहकारी संस्था लि. बेलबारी –१०, दिपज्योती नारी विकास बचत तथा ऋण सहकारी संस्था लि.बेलवारीमापनि तोडफोड तथा नगद र सामान चोरी भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

संघले सहकारी संस्थामा चोरी डकैतीमा संलग्न केही ब्यक्तिहरुलाई झापा प्रहरीले पक्राउ गरि हाल थुनामा राखेको भएकोले उनिहरु मोरङका सहकारी संस्था तोडफोड गरि चोरीमा संलग्न रहेको हुनसक्ने भएकोले झापा जिल्ला प्रशासन संग समन्वय गरि सत्य तथ्य पत्ता लगाउनका लागि आवश्यक पहल गरिदिनु समेत ज्ञापन पत्र मार्फत अनुरोध गरेको छ ।
संघले सहकारी संघसंस्थाको विशेष सुरक्षा योजना बनाई शान्ति सुरक्षा प्रदान गर्न गराउन र भय रहित वातावरणमा काम गर्नसक्ने अवस्था सृजना गर्न गराउनसमेत माग गरेको छ ।