ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई फिक्कलमा सम्मान

विराटनगर २२ वैशाख । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत इलामको सूर्याेदय नगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । सूर्याेदय नगरपालिकाले कन्याममा स्वागत तथा फिक्कलमा सम्मान गरेको हो ।

मोरङको विराटचोकमा तेश्रो ओलम्पियन रियुनियन सकेर इलाम आएका खेलाडीहरुलाई फिक्कल बजार परिक्रमा गराएर फेन्सोङ गुम्बा परिसरमा सम्मान गरिएको हो । कार्यक्रममा १४ औ राष्ट्रपति रनिङ शिल्डमा मेडल जित्ने सूर्याेदय नगरपालिकाका खेलाडीहरुलाई सम्बन्धित खेलका केन्द्रिय पदाधिकारी र ओलम्पियनहरुको हातबाट सम्मान गरिएको थियो ।

कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी, २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीको सहभागिता रहेको छ । त्यस्तै, ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा अस्ट्रिया, मलेसिया, सिंगापुर, बेलायतका छजना ओलम्पियनहरु समेत सहभागी थिए । ओलम्पियनहरुलाई सूर्याेदय नगरपालिका प्रमुख रण बहादुर राईले मायाको चिनो प्रदान गरेका थिए ।

पुनर्मिलन कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्याेदय नगरपालिकास्थित फिक्कलमा पुगेर सम्पन्न भएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा भएको कार्यक्रममालाई इलाममा सूर्याेदय नगरपालिकाले व्यवस्थापन गरेको थियो ।

नेपालका सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका नाम सिंह थापा मगर देखि हालसम्मका ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायत सहभागी थिए । एसोसिएसनका अध्यक्ष दिपक बिष्टले कार्यक्रम संयोजनका लागि सूर्याेदय नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।