वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित

काठमाण्डौं २२ वैशाख । अनिलकुमार साह र आशिफ शेख लयमा फर्किएसँगै वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।

योसँगै नेपालले सान्त्वना जितसहित ५ खेलको टी–२० शृंखला वेस्ट इन्डिजलाई ३–२ ले सुम्पिएको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। तर, त्यसपछिका तीन खेलमा भने वेस्ट इन्डिज हाबी हुँदै लगातार जित हासिल गर्न सफल भयो । दोस्रो खेल १० रनले जितेको वेस्ट इन्डिजले तेस्रो खेल ७६ रनले जित्दै शृंखलामा अग्रता बनाएको थियो। यस्तै, तेस्रो खेलमा २८ रनको जित हासिल गर्दै वेस्ट इन्डिजले शृंखला ३–१ ले आफ्नो पक्षमा पारिसकेको थियो ।

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अनिल र आशिफ नायक बने । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

वेस्ट इन्डिजका एलिक एथानजेले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए। २९ बल खेलेका उनले १ चौका ३ छक्का प्रहार गरे। २३ बल खेलेका कप्तान रोस्टन चेल्सले ५ चौकासहित ३३ रन बनाए । यस्तै, जोनसन चाल्र्स २४, म्याथ्यू फोर्डे २३ रनमा आउट हुँदा अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन ।

नेपालका सोमपाल कामी र सागर ढकालले उत्कृष्ट प्रदर्शन गरे। ४ ओभरमा १६ रन खर्चिएका सोमपालले ३ विकेट लिए । २ ओभर बलिङ गरेका सागरले भने ३ विकेट लिन १७ रन खर्चिए । यस्तै, अविनाश बोहराले १ विकेट लिए ।