विराटनगर २० वैशाख । कोशी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा माओवादीले मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको विशेषाधिकार हनन् गरेको आरोप लगाएका छन् ।
आज एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारी र नेकपा माओवादीका सांसद गणेश उप्रेतीले अहिले मुख्यमन्त्री केदार कार्की र मुख्य न्यायाधिवक्ता कार्यालयबाट भई रहेका गतिविधिले क्षेत्राधिकार मिच्ने काम तथा प्रदेश सभाबाट पारित भएको सङ्कल्प प्रस्तावको गलत व्याख्या गर्दै संसद्को बिधेषधिकारको हनन् गर्ने काम भएको बताएका हुन् ।
कोसी प्रदेश सरकारको पछिल्ला गतिविधिकै कारण कोसी प्रदेश सभाको कुनै पनि बैठक न्यायालयको रूपमा प्रस्तुत हुनसक्ने समेत पत्रकार सम्मेलनमा चेतावनी दिइएको छ । कोसी प्रदेश सभाबाट गत वैशाख ६ गते पारित भएको सङ्कल्प प्रस्तावको विषयलाई लिएर मुख्यमन्त्री केदार कार्कीले राय तथा टिप्पणीको नाममा विभिन्न निकायमा दबाब तथा धम्कीपूर्ण पत्रहरू पठाइएको भन्दै त्यसको एमाले र माओवादीले आपत्ति जनाएको हो । संसदीय सर्वाेच्चतालाई ख्याल नै नगरी क्षेत्राधिकार मिचेर कहिले प्रदेश प्रमुखलाई पत्र लेख्ने, कहिले सभामुखलाई पत्र लेख्ने जस्ता कार्यहरू गलत भएको समेत भण्डारीले बताए ।
मुख्यमन्त्रीबाट प्रदेश सभाको सङ्कल्प प्रस्तावको उल्लङ्घन भएको तथा अपव्याख्या गरी हनन् गरेको आरोपमा प्रदेश सभालाई न्यायीक इजलासको रूपमा स्थापित गरी सुनुवाइ गर्न सकिने समेत प्रतिपक्षको चेतावनी छ ।
एमाले माओवादीले वैशाख २५ गतेसम्म विश्वासको मत लिने प्रशस्त ठाउँ हुँदा हुँदै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने भन्ने विषयको औचित्य नै सकिने बताएका छन् । मुख्यमन्त्री कार्की सरकारको तर्फबाट मुख्य न्यायाधिवक्ताको राय बुझाउने नाममा प्रदेश प्रमुख, सभामुख तथा राष्ट्रपति कार्यालयसम्म दबाब दिने काम गरिरहेको विपक्षीको आरोप छ ।