लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्धि आउने पूर्व प्रधानमन्त्री डा भट्टराई

विराटनगर १८ वैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणबाट मुलुकमा समृद्ध कायम हुने बताउनु भएको छ ।

नेपाल समाजवादी पार्टी केन्द्रीय महाधिवेशन आयोजक समितिद्वारा आज विराटनगरमा आयोजित नागरिक सम्वाद तथा चियापान कार्यक्रम –२०८१ मा उहाँले निर्वाचित जनप्रतिधिहरुलाई जनताले प्रत्यक्ष निगरानी, राजनीतिक स्थिरता, दलको नेतृत्व राम्रो भएमा संघीय गणतन्त्र सृदृढ हुनुका साथै जनता एवं मुलुकमा समृद्धि कायम हुने धारणा राख्नु भयो ।

पूर्व प्रधानमन्त्री भट्टराईले विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न संविधानमा रहेका केही कमीकमजोरीलाई सहमतीको आधारमा संशोधन गरी पूर्णता दिनुपर्नेमा जोड दिनु भयो । उहाँले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता राख्नु पर्छ भन्दै यसबाट मुलुकलाई आवश्यक पर्ने दक्षजनशक्ति उत्पादन हुनका साथै विदेशी मुद्राको आर्जन गर्न सकिने विचार राख्नु भयो ।

अध्यक्ष भट्टराईले वर्तमान अवस्थामा युवायुवतीको वैदेशिक अध्ययन र कामका लागि पलायन हुने मोह गंभीर विषय हो भन्दै उनीहरुको देश र समाजप्रतिको अविश्वासलाई विश्वासमा परिणत गराउन राजनीतिक दल, नागरिक समाज लगायत हामीसबै लाग्नु पर्ने आवश्यक्ता औंल्याउनु भयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमतीका आधारमा छिमेक मित्र राष्ट्र भारतसँग कृषि, विद्युत लगायतका अन्य क्षेत्रका समस्या समाधान गर्न गम्भिर रुपमा छलफल गरी मुलुकको चुलिदै गएको व्यापार घाटा कम गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले मुलुकमा आर्थिक चलायमान गर्न कृषिमा आश्रित जनसङ्ख्यालाई सेवा क्षेत्रमा परिचालन गरेमा औद्योगिक उत्पादनको खपत वृद्धि हुुनुका साथै उद्योग स्थापनामा स्वदेशी तथा विदेशी लगानी आउने विश्वास व्यक्त्त गर्नु भयो ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले बैकिङ्ग क्षेत्रले औद्योगिक एवं पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने बताउँर्दै वित्तीय संस्था एवं बैंङकवाट लिएको ऋण नतिर्न अफवाह फैलाउनेलाई ऐन , नियम अनुसार कारवाही गर्र्नु पर्ने सुझाव दिनु भयो । कार्यक्रममा मनमोहन प्राविधिक विश्व विद्यालयका रजिष्टार डा दिलनाथ फुयाँल, नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष पवन शारडा, अधिकारकर्मी उत्तम ढुँगेल, शिक्षाकर्मी गोपाल गेलाल, समाजसेवी विजयहरी शर्मा लगायतले विभिन्न जिज्ञासा राख्नु भएको थियो ।