चौंथो मिल्स गोल्डकप : डिफेन्डिङ च्याम्पियन गोलबजारलाई हराउँदै प्रहरी सेमिफाइनलमा

विराटनगर १० वैशाख । टाइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गोलबजार स्पोर्टिङ क्लब सिराहलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो ।

जितसँगै प्रहरीले फाइनल प्रवेशको लागि बिहीबार घरेलु टिम पेमा युवा क्लब विराटनगरसँग खेल्नेछ । निर्धारित समयसम्म २–२ गोलको बराबारी भएपछि टाइब्रेकरबाट जितेको छिनोफानो भएको हो । जितको लागि टाइब्रेकरमा प्रहरीको तर्फबाट उज्जल राई, सन्देश विक, बिवेक राई र सुमित प्रधानले गोल गरेका थिए ।

गोलबजारको तर्फबाट बिनोद राई र निरजल मुक्ताङ्गले मात्र गोल गरे । गौरव श्रेष्ठ र मिन धिमालको प्रहार प्रहरीका गोलकिपर पुरन राईले उत्कृष्ट बचाए । टाइब्रेकरमा दुई गोल सेभ गर्ने प्रहरीका पुरन खेलको प्लेयरअफ म्याच घोषित भए ।

अन्तिम क्वाटरफाइनल खेलमा पहिलो हाफमा गोलबजार स्पोर्टिङ क्लब सिराहले अग्रता लिएको थियो । खेल सुरु भएको १२ औं मिनेटमा निशान्त लिम्बुले गोल गरी टिमलाई अग्रता दिलाए । डिबक्स भित्र सन्दिप लिम्बुले निकालिदिएको पासलाई गोलबजारका निशान्तले आकर्षक गोल गरे ।

दोस्रो हाफदेखि प्रहरीले आक्रमक खेल खेल्दै ४४ औं मिनेटमा रमेश राजवंशीले गोल गरि खेल १–१ गोलको बराबरीमा ल्याए । अभिषेक आलेमगरले निकालेको पासलाई रमेशले गोल गरे । खेल सकिन दुई मिनेट बाँकी रहदा गोलबजारका सिनोद राईले गोल गरी अग्रता दोब्बर बनाए । तर, गोलबजारले दोस्रो गोल गरेको एक मिनेट बित्न नपाउँदै प्रहरीको तर्फबाट बिवेक राईले गोल गरी खेल २–२ गोलको बराबरीमा ल्याए ।

खेलको अन्तिममा गोलबजारका खेलाडी समालिन नसक्दा चौथो संस्करणको मिल्स गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो ।  बुधबार हुने पहिलो सेमिफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ ) पकली सुनसरी र कनकाई स्पोर्टिङ क्लब सुरुङगा झापाबीच हुनेछ ।

वैशाख १५ गते हुने फाइलनमा कोशी प्रदेशका ‘ए’ डिभिजनका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय र उपबिजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने मिल्स गोल्डकप फुटबल टष्टका अध्यक्ष विष्णुं डंगोलले जानकारी दिए ।