सद्भाव भड्काउने गतिविधि निस्तेज पार्न युवा संघको माग

विराटनगर ७ वैशाख । विराटनगरमा सद्भाव भड्काउने गतिविधि हुन थालेको भन्दै राष्ट्रिय युवा संघ नेपालले चिन्ता व्यक्त गरेको छ ।

समुदायबीचको सद्भावलाई कमजोर बनाउने र भड्काउने अप्राकृतिक कार्यप्रति युवा संघले आफ्नो गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । राष्ट्रिय युवा संघ विराटनगर महानगर कमिटीले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्रसमेत बुझाएको छ ।

सहायक प्रजिअ प्रदीप साहलाई बुझाइएको ज्ञापन पत्रमार्फत युवा संघले सामाजिक रूपमा असर पर्ने जातीय, धार्मिक र सामाजिक सद्भाव भड्किने खालका गतिविधिलाई निस्तेज पार्न आग्रह गरेको छ । कुनै पनि अवाञ्छित गतिविधि गरेमा कानुनी कारबाही अघि बढाउन पनि युवा संघले प्रशासनसमक्ष आग्रह गरेको छ । साथै, ज्ञापन पत्रमार्फत शान्ति सुव्यवस्था कायम राख्न माग समेत गरिएको छ ।

संघका विराटनगर अध्यक्ष निरञ्जन ढुंगानाले सद्भाव भड्काउने खालका गतिविधि कोही कसैबाट पनि हुन नहुने बताउनुभयो ।

व्यक्तिगत उत्तेजना र अवाञ्छित गतिविधिमार्फत स्थानीय समुदायबीचको सद्भावलाई कमजोर बनाउने गतिविधि भएको भन्दै उनले त्यसलाई रोक्न सबैले पहल गर्नुपर्ने बताउनुभयो ।