मिल्स गोल्डकप वैशाख ७ देखि

विराटनगर ६ वैशाख । चौथो संस्करणको ‘मिल्स गोल्डकप फुटबल’ वैशाख ७ गतेदेखि सुरू हुने भएको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टले बुधबार पत्रकार सम्मेलन गर्दै विराटनगर जुट मिलको खेल मैदानमा प्रदेशस्तरीय आठ क्लवले प्रतिस्पर्धा जानकारी दिएको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी, नगर खेलकुद विकास समिति बर्दिवास महोत्तरी, टिडब्लुवाईसी, विराटनगर, कन्काई स्पोर्टिङ्ग क्लब सुरुङ्गा झापा ,पेमा युवा क्लब विराटनगर, फियर फुटबल क्लब धरान, कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर र गोलबजार स्पोर्टिङ क्लब सिराहा सहभागी हुने गर्ने ट्रष्टका अध्यक्ष विष्णुं डंगोलले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल वैशाख १५ गते हुने छ ।

प्रतियोगिताको विजेताले नगद दुई लाख ११ हजार एक सय र उपविजेताले एक लाख ११ हजार एक सय पाउने खेल संयोजक मनोज खड्काले जानकारी दिनु भयो । उहाँका अनुशार प्रतियोगिता सम्पन्न गर्न १२ लाख ६८ हजार खर्च हुने अनुमान गरिएको छ ।

विस २०७२ सालमा मिल्स एरियाको फुटबलको गरीमा र इतिहासलाई जर्गेना गर्ने उद्देश्यले मिल्स गोल्डकप फुटबल ट्रष्टको स्थापना भएको हो ।

गत वर्ष सम्पन्न खेलमा झापा दमकको फुटबल एकेडेमी विजेता र गोलबजारको प्रतिभा क्लब उप विजेता भएको थियो ।