विराटनगर रानी क्षेत्रमा दुई समुदायबीच झडप, संयमता अपनाउन स्थानीय प्रशासनको आग्रह

विराटनगर ५ वैशाख । विराटनगरमा आज दिउँसो दुई समुदायबीच दोहोरो झडप भएको छ । झडपका कारण विराटनगरको रानी क्षेत्र तनावग्रस्त बन्यो । रामनवमीको अवसरमा हिन्दु सम्राट नेपालले निकालेको र्याली मुस्लिम बस्ती पुगेपछि तनाव सुरु भएको हो ।

विराटनगर महानगरपालिका–१५ रामजानकी मन्दिर र विराटनगर–१३ नहर चोकबाट हिन्दु सम्राट नेपालका मोरङ अध्यक्ष बलराम यादवको नेतृत्वमा सवारीसाधनसहितको र्याली निकालिएको थियो । स्थानीय प्रशासनका अनुसार विराटनगर बजार परिक्रमा गरी र्याली रामजानकी मन्दिरनजिक पुगेर कोणसभामा परिणत हुने कार्यक्रम थियो । तर, रानी रोड, हनुमान मन्दिर, आईसीपी रोड, छाला फयाक्ट्री र मण्टा पोखरी हुँदै र्याली मुस्लिम बस्ती पुगेपछि तनाव सुरु भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार रामजानकी मन्दिर निस्कने क्रममा विराटनगर–१५ र १७ स्थित मुस्लिम बस्तीमा पुगेपछि र्यालीलाई अवरोध गरिएको थियो । हिन्दु र मुस्लिम समुदाय झडपमा उत्रिएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइएकोे प्रजिअ भट्टराईले बताउनुभयो । उहाँका अनुसार अहिले अवस्था सामान्य बन्दै गएको छ ।

दुई पक्षको झडपमा परेर ५ जना प्रहरी घाइते भएका छन् । घाइते सुरक्षाकर्मीको संख्या बढ्न सक्ने प्रजिअ भट्टराईले बताउनुभयो । घाइतेको थप विवरण प्राप्त भइसकेको छैन । दुवै पक्ष लाट्ठी, तरबारलगायतका घरेलु हतियारसहित झडप र प्रदर्शनमा उत्रिएका छन् । स्थिति भड्किन नदिन ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

स्थानीय प्रशासनले वर्षाैदेखिको धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिएको छ । संयमता अपनाउन र परिस्थिति भड्किन नदिन प्रशासनले सबैमा आग्रह गरेको छ । धार्मिक गतिविधिका नाममा हुने गरेका अराजकता कानुनी कारबाहीको विषय बन्ने प्रजिअ भट्टराईले बताउनुभयो ।

धार्मिक अगुवाहरुले पनि परिस्थिति भड्किन नदिन सबैमा आग्रह गरेका छन् ।