विराटनगर १ वैशाख । थारु कल्याणकारी सभा (थाकस) मोरङले सिरुवा पर्वको अवसरमा पूर्व सभापतिहरुलाई सम्मान गरेको छ ।
वुढीगंगा ७ धराहरा टोलमा आज सिरुवा पर्वको अवसरमा जुडी सितौल शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रमको आयोजना गरिएको हो । अध्यक्ष प्रदिपकुमार विश्वासले अग्रजलाई सम्मान गर्दै कार्यकालको शुरुवात गर्नुभएको छ । कार्यक्रममा पूर्वअध्यक्षहरु रुद्रनारायण चौधरी, नन्दु सरदार, खड्गनारायण विश्वास, चन्द्रनारायण चौधरी, सुनिल विश्वास, चुमनारायण तवदार, देवराज चौधरी, प्रदीप भगतको तस्वीर सार्वजनिक गर्दै सम्मान गरिएको छ ।
थाकस मोरङका अध्यक्ष विश्वासले संस्थालाई जग्गादान गर्ने कुनुलाल चौधरी र श्रीमती टकावती चौधरी तथा जेष्ठ नागरिक व्रह्मनारायण चौधरीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले वर्तमान आधुनिक समयमा युवायुवतीहरुलाई आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने चेतना जागृत गर्न आवस्यक रहेकमा जोड दिएका छन ।
कार्यक्रममा कोशी प्रदेश सभाका पूर्व सदस्य चुमनारायण तवदार, वुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदार, सोहीपालिकाका पूर्वअध्यक्ष बालचन्द्र माझी, थारु कल्याणकारी सभाका अध्यक्ष प्रदीपकुमार विश्वास, उपाध्यक्ष जागेश्वर विश्वास लगायतले संस्कृति संरक्षणमा जोड दिनुभयो ।
जुडी सितौल पर्वमा परिवारका जेष्ठ सदस्यहरुको खुट्टामा पानी राखी आर्शिवाद लिने तथा जेष्ठ सदस्यहरुले आफुभन्दा सानालाई टाउको (सिर)मा पानी लगाई वर्षभरी सुख सम्वृद्धि, स्वास्थ्य, दीर्घायु जीवनको आशीर्वाद दिने चलन रहेको थाकस मोरङका सहसचिव मनोज चौधरीले जानकारी दिनुभयो ।