विप्लव समूहका तत्कालीन मोरङ जिल्ला सेक्रेटरी सहित २ जना रिहा

विराटनगर, १४ वैशाख । नेकपा विप्लव समूहका तत्कालीन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन । खतिवडालाई जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएको हो ।

०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विस्फोटक पदार्थसम्बन्धी मुद्दा लगाएको थियो । अढाई वर्षपछि सो मुद्दाको फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो । खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन । डाँगी मोरङ बुढीगंगाका ७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुन ।

उनीहरुलाई प्रहरीले मोरङबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई डंग्राहाको बालकुमार डाँगीको घर छेउको खोलाबाट फेला परेको विष्फोटक पदार्थ ओसार पसारमा संलग्न भएको अभियोग लागेको थियो ।

अदालतले धरौटीमा छोड्न आदेश दिएसँगै उनीहरुले नेकपा विप्लव समूहमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने बताएका छन ।