कोशी प्रदेश :३९ प्रतिशत स्वास्थ्य जनशक्तिको अभाव

विराटनगर २९ चैत । कोशी प्रदेशमा ३९ प्रतिशत स्वास्थ्य जनशक्तिको अभाव छ । स्वास्थ्य जनशक्ति अभावका कारण स्वास्थ्यको कार्यसम्पादनमा समस्या देखिएको छ । आ.व. २०८०–८१ स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय अर्धवार्षिक समीक्षा एवम् योजना तर्जुमा गोष्ठीमा स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले करिव ६० प्रतिशत जनशक्तिले कोशी प्रदेशको स्वास्थ्य क्षेत्र सम्हालिरहेको बताउनुभयो । स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्बेद गरि ८३३ जनाको दरबन्दी भएपनि ५०२ जनाले काम गर्नु परिरहेको उहाँले बताउनुभयो । कोशी प्रदेशमा स्वास्थ्य कार्यालयमा १७२ को दरबन्दी भएकोमा ५६ जनाको पद खाली छ । अस्पतालमा ५६३ को दरबन्दी भएकोमा २४४ र आयुर्बेद तर्फ ९८ का दरबन्दी भएकोमा ३१ पद खाली छ ।

चालु आर्थिक वर्षको अर्धबार्षिक समीक्षा गोष्ठीमा निर्देशक बस्नेतले जनशक्तिको अभाव र समयमै पदपुर्ती नहुनु मुख्य समस्याका रुपमा औल्याउनु भएको छ । उहाँले अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा भौतिक संरचना अपर्याप्तता, प्रदेश स्वास्थ्य नीति र नियमावली नबन्नु, कार्यविधि मापदण्ड र अपर्याप्त निर्देशिका हुनु समस्या रहेको उल्लेख गर्नुभएको छ ।

जनशक्तिको पदपूर्ति, भौतिक संरचनाको व्यवस्थापन कार्य अब गर्नुपर्ने कार्य रहेको बताउनुभयो । आवश्यकताको आधारमा बजेट (दिगो विकास लक्ष्य अनुसार कार्यक्रम तय हुनु पर्ने), न्यूनतम सेवा मापदण्ड अनुसार बजेट बिनियोजन गर्नुपर्ने (अस्पताल, आयुर्वेद), प्रतिकारात्मक तथा प्रवद्र्धनात्मक कार्यक्रमलाई जोड गर्नु पर्ने, स्थानीय तहरसमुदाय स्तरको कार्यक्रममा सहयोग, जनशक्ति परिचालन, निशुल्क औषधीको माग अनुसार वितरणको व्यवस्था मिलाउनु पर्ने समीक्षा गोष्ठीमा उल्लेख गर्नु भएको छ ।

तीन दिने गोष्ठीमा आ.व.२०८०–८१ को अर्धवार्षिक अवधिमा सम्पन्न भएका क्रियाकलापको अवस्था, कार्यान्वयन गर्न बाँकि रहेका कार्यक्रम, सिकाई, सूचकका आधारमा मुख्य मुख्य उपलब्धिहरु, समस्या र चूनौतिहरुलाई समालोचनात्मक समीक्षा गरी विस्तृत कार्ययोजना निर्माण गर्ने, प्रदेशस्तर तथा स्थानीय तहबाट पहिचान भएका प्रमुख स्वास्थ्य समस्याहरु र चुनौतिहरुलाई आगामी योजनामा सम्बोधन गर्ने गरी बजेट तथा कार्यक्रमको प्राथमिकिकरण गरिने उल्लेख गर्नुभयो ।

कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्यकर्मीहरुको दायित्व रहेको बताउनु भएको छ ।

मन्त्री सुनुवारले सीमित श्रोत सोधनको अधिकतम प्रयोग गरी जनताको स्वास्थ्य सुरक्षामा अहोरात खट्ने स्वास्यकर्मीहरुको कार्य प्रशंसनीय रहेको विचार राख्नु भयो । उहाँले सूचना प्रविधिको वर्तमान समयमा छिटो छरितो ढङ्गले जनतालाई सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिदै आगामी बैशाख १५ गते प्रदेश स्वास्थ्य नीति ल्याउने र त्यसको आधारमा योजनाहरु तयार गरिने जानकारी दिनुभयो ।