कोशीले थप्यो ब्याडमिन्टनमा चार स्वर्णसहित आठ पदक

विराटनगर २८ चैत । चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले ब्याडमिन्टनतर्फ आठ पदक जितेको छ । बिहीबार भएको स्पर्धामा कोशीले चार स्वर्ण, एक रजत र तीन कास्य गरी आठ पदक हात पारेको हो । कोशीले टिम इभेन्टमा पुरुष र महिलातर्फ स्वर्ण पदक हात पार्यो ।

पुरुषतर्फ विशाल तामाङ, मिलिन गुरुङ र विवेक कन्दङ्वाको टिमले स्वर्ण जित्दा महिलातर्फ सीमा राजवंशी, रोजी राई र अन्जना राईको टोलीले स्वर्ण जित्यो । मिक्स डबल्समा विशाल तामाङ र सीमा राजवंशीले र वुमन्स सिंगलमा सीमा राजवंशीले स्वर्ण हात पारे ।

वुमन्स सिंगलमा रोजी राईले रजत जितिन् भने मेन्स डबलमा विशाल राई र मिलिन गुरुङले कास्य पदक हात पारे । वुमन्स डबल्समा सीमा राजवंशी र रोजी राईले कास्य जित्दा मेन्स सिंगलमा विशाल तामाङले कास्य जिते । ब्याडमिन्टनतर्फ कोशीका विशाल तामाङ उत्कृष्ट खेलाडी बने भने दुर्गा सारु मगर उत्कृष्ट प्रशिक्षक बने । यससँगै कोशीले हालसम्म ६४ पदक हात पारेको छ । सोमबारबाट सुरु भएका विविध प्रतिस्पर्धाअन्र्तग तेस्रो दिनसम्म आइपुग्दा १४ स्वर्ण, २० रजत र ३० कास्य गरी ६४ पदक जितेको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए । मंगलबार भएको करातेतर्फ कोशीले एक स्वर्णसहित १३ वटा पदक जित्यो । करातेको ८४ केजीतर्फ ईश्वरधन राईले स्वर्ण पदक जित्दा एकल कातातर्फ विवेक राईले रजत जिते ।

५५ किलोतर्फ विद्याकला राई, ६७ केजीमा पर्वत बस्नेत, ५५ केजीमा सूर्यचन्द्र राई, ५० केजीतर्फ महिलामा दिव्या तामाङ र पुरुषतर्फ ५० केजीमा दिपेश राईले रजत जिते । एकल कातामा रोश्ना राई, ६८ किलोतर्फ मेनुका मगर, ४५ केजीमा स्मृति चौधरी, ८४ किलोमा केशव राई र ७५ किलोमा खरीहाङ दुमीले कास्य जित्दा टिम कातामा खरीहाङ राई, अर्जुन श्रेष्ठ र सूर्यचन्द्र राईको समूहले कास्य जित्यो । कोशीले स्वीमिङतर्फ ६ वटा रजत जित्यो भने १३ वटा कास्य जित्यो ।

एथ्लेटिक्सतर्फ दुईवटा गोल्ड, चार वटा सिल्भर र दुईवटा ब्रोन्ज गरी आठ वटा पदक जित्यो । तेक्वान्दोतर्फ कोशीले पाँच वटा स्वर्ण, दुईवटा रजत र ६ वटा कास्य गरी १३ पदक हात पार्यो । महिला क्रिकेटतर्फ कोशी प्रदेशले दोस्रो हुँदै रजत पदक जित्यो । फुटबलमा महिला र पुरुष दुवैतर्फ फाइनल पुगेको एक पदक पक्का गरेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट शनिबार नै सुरु भएको थियो भने अन्य खेलका प्रतिस्पर्धा सोमबारबाट सुरु भएको थियो । पुरुष क्रिकेट चैत २८ गतेदेखि शुरु भएको छ । प्रतियोगिताको समापन समारोह गौरीटार रंगशाला हेटौंडामा वैशाख २ गते हुने छ ।

प्रतियोगितामा करिब २ हजार खेलाडी तथा अफिसियल सहभागी भएका छन् । प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कास्यका लागि प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताका स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेता खेलाडीले तीन हजार रुपैयाँ हात पार्नेछन । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ भने टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न १२ करोड खर्च हुने आयोजकले जनाएको छ ।