एमाले र माओवादी केन्द्रद्धारा कोशी प्रदेशका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता

विराटनगर २६ चैत । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एमाले र माओवादी केन्द्रले वैकल्पिक सरकारका लागि दाबी पनि पेश गरेका छन् ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको भन्दै एमाले र माओवादी केन्द्रले हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउनका लागि राजनीतिक दाबी पेश गर्नुभएको हो । प्रदेश सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएको माओवादी र एमालेले सोमबार नै वैकल्पिक सरकारका लागि दाबी पेश गरेका हुन् । संविधानको धारा १६८ को ५ अनुसार गठन भएको सरकार अल्पमतमा परेकाले अर्काे सरकार गठनको सहजताका लागि प्रदेश प्रमुख समक्ष राजनीतिक दाबी पेश गरिएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनुभयो ।

गत असोज २७ मा कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेकपा एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेस संसदीय दलका ८ जना सदस्यसहित ४७को समर्थनमा केदार कार्की नियुक्त हुनु भएको थियो । असोज २८ मा सरकारमा सहभागी भएको एमाले फागुन १८ मा सरकारबाट बाहिरिएको थियो । वैकल्पिक सरकारको दाबी पेश गरेको गठबन्धनले उपधारा ५ अनुसार अर्काे सरकार गठन हुनसक्ने २०७८ साल असार २८ गते संवैधानिक परिषद्ले गरेको व्याख्यालाई पनि समावेश गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन विरुद्ध संवैधानिक इजलासको नजिरलाई पनि टेकेर वैकल्पिक सरकारको दाबी पेश गरेको हो । मुख्यमन्त्री केदार कार्कीज्युको सरकारमा माओवादी केन्द्रबाट सहभागी भएका राजेन्द्र कार्की, गणेश उप्रेती, र नारायण बुर्जा मगरले मुख्यमन्त्री कार्की समक्ष राजीनामा दिएका छन् । तीनै जना मन्त्रीको राजीनामा स्वीकृत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।