उद्योग परिसंघद्धारा विद्युतको समस्या समाधान गर्न ९ बुँदे माग राख्दै विद्युत प्राधिकरणको ध्यानाकर्षण

विराटनगर १४ वैशाख । नेपाल उद्योग परिसंघ प्रदेश–१ ले विद्युतको समस्या समाधान गर्न ९ बुँदे माग राख्दै नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ ।

आज विराटनगरमा उद्योगी व्यवसायी र प्राधिकरणका प्रदेश कार्यालय र वितरण केन्द्रका प्रमुखहरूसँगको छलफल कार्यक्रममा परिसंघ प्रदेश–१ ले नेपाल विद्युत प्राधिकरणलाई ९ बुँदे ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा नेपाल उद्योग परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले नेपाल विद्युत प्राधिकरण प्रदेश–१ कार्यालयका प्रमुख राजन ढकाललाई उद्योगीका तर्फबाट ९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्र बुझाउँदै घिमिरेले अविलम्ब लोडसेडिङको सेड्युल सार्वजनिक गर्न माग गर्नुभयो । ट्रिपिङ र लोडसेडिङको समस्या तत्काल समाधान गर्न माग गरेको बताउनुभयो । डिमाण्ड शुल्क अन्यायपूर्ण भएकाले तत्काल खारेज गर्न र लोभोल्टेज र हाइ भोल्टेजका कारण कुनै क्षति भएमा नेपाल विद्युत प्राधिकरणले जिम्मेवारी लिनुपर्ने माग राखिएको घिमिरेले बताउनुभयो । यता नेपाल विद्युत प्राधिकरण प्रदेश १ कार्यालयका प्रमुख राजन ढकालले १ महिना सम्म विद्युतको समस्या समाधान हुन नसक्ने बताउनुभयो । उहाँले विद्युतको माग आपूर्तिमा सन्तुलन मिल्न नसक्दा विद्युतको समस्या बढेको बताउनुभयो ।

ढकालले नेपालीमा अरुलाई आरोप लगाउने संस्कार रहेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभयो । उहाँले विद्युत प्राधिकरणको मात्रै समस्या नभएर सबैको समस्या हो भन्ने बुझेर कम्तीमा एक महिना सहयोग गरिदिन आग्रह गर्नुभयो । ढकालले नेपालमा गत बर्षको तुलनामा चालु आर्थिक वर्ष ४० प्रतिशतले विद्युतको माग बढेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल नेपालमा विद्युतको माग बढेर ३५ हजार मेघावाट आवर पुगेको छ । भारतबाट ९ हजार मेघावाट आवर विद्युत आयात भइरहेको ढकालले बताउनुभयो । कार्यक्रममा उद्योगी अशोक मुरारकाले विद्युत प्राधिकरणले कतिवेला लाइन काटिन्छ भनेर जानकारी नदिंदा सुनसरी–मोरङ ओद्योगिक करिडोरका उद्योगहरूले धेरै नोक्सानी बेहोर्नुपरेको गुनासो गर्नुभयो ।

व्यवसायी राकेश सुरानाले विद्युत प्राधिकरणले जिम्मेवार बोध गर्न नसक्दा समस्या देखिएको आरोप लगाउनुभयो । नेपाल उद्योग परिसंघ प्रदेश १ का उपाध्यक्ष दीपक पौडेलले समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणले जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो । उहाँले प्राधिकरण जिम्मेवार नभएसम्म नेपालमा कहिलै विद्युतको समस्या समाधान नहुने धारणा राख्नुभयो ।