विराटनगर २६ चैत । भोजपुरको षडानन्द नगरपालिकाकी एसुविना कार्कीले सोमबार कक्षा ९ को प्रवेश परीक्षा पोखरिया माविबाट दिईन । धनकुटाको निजामति आवासीय विद्यालयबाट कक्षा ८ को अध्ययन पुरा गरेकी उनले कक्षा ९ देखि पोखरिया माविमा पढ्ने इच्छा भएकाले परीक्षामा सहभागि भएको बताईन । विद्यालयको सवै पक्ष राम्रो भएकाले रोजाईमा पाखरिया परेको कार्कीको भनाई छ ।
प्रवेश परीक्षाका लागि छोरी लिएर आएकी बविता कटुवालले छोरीको रोजाई नै पोखरिया भएको बताईन । सामुदायिक विद्यालयकी शिक्षिका समेत रहेकी उनले भनिन्,‘ ग्रामिणमा क्षेत्रमा मुख्य विषयका शिक्षकको स्थायीत्व नभएकाले पनि विराटनगर आउनु परेको हो ।’ छोरीको इच्छा सामुदायिक विद्यालयबाटै एसईई दिने रहेको उनको भनाई छ ।
सिराहाको लहानका रुपेशकुमार यादवले सोमबार कक्षा ९ को प्रवेश परीक्षा पोखरिया माविबाट दिए । पोखरिया माविको पठाईबारे सिरहामा धेरै चर्चा रहेको र आफुले बुझ्दा पनि विद्यालयको पठन पाठन राम्रो लागेको उनले बताए । पठन पाठन राम्रो भएको र छोराको इच्छा पनि पोखरिया पढ्ने भएकाले प्रवेश परीक्षाका लागि सिराहाबाट आएको उनले बताए ।
विराटनगर ३ को पोखरिया माध्यमिक विद्यालयले सोमबार लिएको प्रवेश परीक्षामा कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश जिल्लाबाट आएका विद्यार्थी सहभागि भएका थिए । दिउँसो १ बजेदेखि तय गरेको परीक्षाको निर्धारित समय भन्दा अघि देखि नै अभिभावक र विद्यार्थीले स्कुल भरिभराउ भएको थियो ।
आगामी शैक्षिक शत्र २०८१ का लागि स्कुलले सोमबार र मंगलबारका लागि तय गरेको प्रवेश परीक्षामा विद्यालयले निर्धारण गरेको सिट भन्दा चार गुणा बढी विद्यार्थीको आवेदन परेको छ । शैक्षिक शत्र २०८१ का लागि विद्यालयले कक्षा १ देखि ९ सम्म ६४५ सिट निर्धारण गरेकोमा २ हजार ४३१ विद्यार्थीले आवेदन दिएका छन् । सोमबार कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थी प्रवेश परीक्षामा सहभागि भएका छन् । मंगलबार कक्षा १ देखि ५ र प्राविधिक विषयको लागि कक्षा ९ का विद्यार्थीको लागि प्रवेश परीक्षा तोकिएको विद्यालयले जनाएको छ ।
आगामी शैक्षिक शत्रका लागि विद्यालयले निर्धारण गरेको भन्दा चारगुणा बढी विद्यार्थीको आवेदन परेको प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए । उनका अनुसार कक्षा १ मा ३० जनाको सिटमा ५० विद्यार्थी, कक्षा २ मा १० जनाको सिटमा ५९, कक्षा ३ मा ४५ जनाको सिटका लागि ७४, कक्षा ४ मा ४० जनाको सिटका लागि १३१, कक्षा ५ मा ७१ सिटका लागि २२१, कक्षा ६ मा १२२ सिटका लागि ४१९, कक्षामा ७ मा ६४ सिटका लागि ४७६, कक्षा ८ मा १५० सिटका लागि ५३६, कक्षा ९ मा ६५ सिटका लागि ३७४ र कक्षा ९ को प्राविधिक तर्फ ४८ जनाको सिटमा ९१ परीक्षार्थीले प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् ।
विद्यालयमा हरेक वर्ष प्रवेश परीक्षाका लागि आवेदन दिने विद्यार्थी संख्या बढ्दो रहेको प्रधानाध्यापक भट्टराईले बताए । शैक्षिक शत्र २०७९ मा १ हजार ८ सय , शैक्षिक शत्र २०८० मा २ हजार १ सय विद्यार्थी प्रवेश परीक्षामा सहभागि भएको उनले बताए । संस्थागत विद्यालय जत्तिकै गुणस्तरिय शिक्षा दिएकै कारण पोखरिया माविमा विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक भट्टराईको दावी छ । उनले भने,‘ दक्ष अनुभवी शिक्षक, राजनीति रहित विद्यालय व्यवस्थापन समिति, व्यवस्थापकी पक्ष चुस्त दुरुस्त छ ।’ विद्यालयमा अनुभवी, तालिम प्राप्त शिक्षक रहेको उनले बताए । विद्यालयले प्रविधिमा बढी जोड दिएको र बालमैत्री शिक्षण सिकाई भएकै कारण विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको उनले बताए ।
विद्यालयका बारेमा अहिले विद्यार्थीकै प्रचारप्रसारले अभिभावक सम्म विद्यालयको बारेमा जानकारी पुगेको प्रधानाध्यापक भट्टराईले बताए । कोशी प्रदेशका सवै र मधेश प्रदेशका अधिकांश जिल्लाका विद्यार्थी प्रवेश परीक्षामा सहभागि भएको विद्यालयले जनाएको छ ।
विद्यालयका शिक्षक महेश गौतमले हरेक वर्ष प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या बढ्दै गएको छ । गुणस्तरिय शिक्षाकै कारण विद्यार्थीको रोजाईमा पोखरिया मावि परेको उनले बताए । यसवर्ष देखि आफ्नै उत्पादनका ४ सय बढी विद्यार्थी एसईई परीक्षामा सहभागि भएको उनले बताउनुभयो । भौतिक पूर्वाधारका कारण पनि चाहेर पनि धेरै विद्यार्थी राख्न नसकीएको गौतमले बताए ।