शिक्षादीप कलेजमा साइवर सुरक्षा सम्बन्धी कार्यशाला, तीन सय विद्यार्थी सहभागि

विराटनगर २५ चैत । शिक्षादीप कलेज विराटनगरले साइवर सुरक्षा तथा ह्याकिङ सम्बन्धी तीन दिने कार्यशाला सुरु गरेको छ ।

सूचना प्रविधिमा चनाखो तथा अद्यावधिक बनाउने, यस माध्यमबाट स्वदेशमै बसेर विदेशी मुद्राआर्जन गर्न सक्ने तथा संसारका जुनसुकै कुनामा पुगेर पनि यस क्षेत्रमा काम गर्न सक्ने योग्य जनशक्ति तयार गर्ने उद्देश्य लिएर कार्यशाला आयोजना गरिएको हो ।

शिक्षादीप कलेजको आयोजना तथा काठमाण्डौको कोड हिमालय र टेक्सपाएर कलेजको प्राविधिक संयोजनमा कार्यशाला सञ्चालन गरिएको जनाइएको छ । आज कलेजमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा बोल्दै प्रिन्सिपल ज्ञानबहादुर खड्काले कक्षा १२ पढिसक्दा विद्यार्र्थी सूचना सञ्चार प्रविधिका माध्यमबाट स्वावलम्वी बन्न सकून भन्ने लक्ष्य लिइएको बताउनु भयो । उहाँले भन्नुभयो– सकेसम्म स्वदेशमै रहेर विदेशी कम्पनीका काम गरी विदेशी मुद्रा भित्र्याउन सकून, होइन भने विदेश नै जाने हुन् भने पनि उच्च स्तरको प्राविधिक काम पाउन र गर्न सकून भनेर कार्यशाला गरेका हौँ । सबैभन्दा सजिलो गरी, पढ्दै काम गर्दै– स्वआर्जन गर्न सकिने एउटा भरपर्दो स्रोत सूचना प्रविधि (आईटी)भएको हुनाले समय सापेक्ष जनशक्ति उत्पादन गर्न यस कार्यशालाले सहयोग पुर्याउने विश्वास कलेजले लिएको छ ।

प्रिन्सिपल खड्काले भन्नुभयो–अहिले पनि विदेशीमुद्रा भित्र्याउने एउटा ठूलो माध्यम आईटी हो, तसर्थ शिक्षादीपमा अध्ययन पूरा गरेर गएका विद्यार्थीहरुले देशको आम्दानीमा नै टेवा पुर्याउने विश्वास लिएका छौँ ।

कोड हिमालयका साइवर सेक्युरिटी विभागका प्रमुख तथा आईटी विज्ञ भरत बस्यालले वर्तमान युगमा आईटी अपरिहार्य आवश्यकता भएकोले सबैले यसबारे जानकारी राखी सीप विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले तीनदिने कार्यशालामा साइबर सुरक्षा के हो, किन आवश्यक छ, कसरी सुरक्षित रहने, ह्याकिङ के हो, कसरी, किन गर्छन्, यसबाट कसरी सुरक्षित रहने जस्ता विषयमा चर्चा गरिने जानकारी दिनुभयो । साथै उहाँले वेभ पेज निर्माण गर्ने, डिजाइन गर्ने र त्यसलाई कसरी राम्रोसँग प्रस्तुतगर्ने भन्ने विषयमा विद्यार्थीको सिप विकास गरिने पनि बताउनुभयो । विराटनगरमा पहिलो पटक यस प्रकारको कार्यशाला शिक्षादीप कलेजले आयोजना गरेको कलेजले दाबी गरेको छ ।

केही महिना अघि मात्र कक्षा १२ का तीन सय विद्यार्थीलाई कार्यशालामा सहभागी गराइसकिएको छ । व्यवस्थापन संकायमा कम्प्युटर विषय पढ्ने एक सय दुई जना विद्यार्थीलाई सहभागी गराउँदै अघिल्लो हप्तामा कार्यशाला सम्पन्न गरिएको थियो भने यस कार्यशालामा विज्ञान संकाय अन्तर्गत कम्प्यूटर विषय लिने तीन सय विद्यार्थी सहभागी हुने कलेजका सञ्चालक सदस्य रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।