आठौ विराट गोल्डकप : सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा प्रवेश

विराटनगर २३ चैत । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफए बीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले घरेलु टिम सांग्रीलाँगको उपाधि भिडन्त पक्का गरेको हो ।

अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्रका आयुष घलानले ९४ औं मिनेटमा निर्णाय गोल गरे । बैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको क्रस पासलाई आयुषले आकर्षक गोल गर्दै टिमलाई फाइनलमा पुर्याए । हिसब थपलियाको ठाउँमा मनिष दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए । निर्णायक गोल गर्ने आयुष प्लेयर अफ द म्याच पनि घोषित भए । उनले नगद ११ हजार पाए । हारपछि सिक्किमा प्रशिक्षक कुन्जन भुटियाले खेलाडीहरुको फिनिसिङ पक्ष कमजोर भएको कारणले सेमिफाइनलमा हार भएको बताए ।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएको कारणले दोस्रो हाफमा रणनीति परिवर्तन गरेर विपक्षीलाई दबाबमा राख्न सफल भएको बताए ।

भोली हुने फाईनल खेलमा गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल पाउनेछन् ।