विराटनगर २२ चैत । कोशी प्रदेश सरकारले ५ जिल्लामा दुर चिकित्सा ( टेलिमेडिसिन सेवा) शुरु गरेको छ । ५ वटा अस्पतालमा आजदेखि सेवा शुरु गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।
कोशी प्रदेशका सोलुखुम्वु, खोटाङ, ओखलढुङ्गा, ताप्लेजुङ र तेहृथुम जिल्लाका ५ अस्पतालमा टेलिमेडिसिन सेवा उपलब्ध हुने निर्देशक वस्नेतले बताउनुभयो । टेलिमेडिसिन सेवाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले शुभारम्भ गर्नुभयो । टेलिमेडिसिन सेवामा बाल रोग, प्रसुती, जनरल, छाला र मनोचिकित्सा सेवा उपलब्ध हुने निर्देशक वस्नेतले जानकारी दिनुभयो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विज्ञहरुको सहयोगमा लक्षण र चिन्हका आधारमा गाउँ–गाउँमा दुर चिकित्सा सेवा पुर्याइने गरि सेवा शुरु गरिएको मन्त्री सुनुवारले बताउनुभयो । सेवालाई चाँडै अन्य जिल्लामा पनि विस्तार गरिने उहाँले जानकारी दिनुभयो । सेवा शुभारम्भसँगै दुर्गम क्षेत्रका जनताले घरमै बसी–बसी विशेषज्ञ सेवा प्राप्त गर्ने मन्त्री सुनुवारले बताउनुभयो । सेवा विस्तारका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि टेलिमेडिसिन सेवालाई समेट्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।