कांग्रेस– एमालेको संयुक्त सरकार निर्माण हुनु जरुरी छ : डा कोइराला

विराटनगर २२ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनाउनु जरुरी रहेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले मुलुक अहिले देखिएको अप्ठ्यारो पस्थिरतामा अन्त्य गरी आर्थिक विकासका लागि गठबन्धन आवश्यक रहेकोमा जोड दिनु भयो ।

उहाँले प्रत्येक वर्ष संघीय र प्रदेशको सरकार परिवर्तनले मुलुकमा समस्या उत्पन्न हुनाले एउटा स्थिर सरकार निर्माणका लागि कांग्रेस र एमालेको वाहेक अन्य विकल्प हुन नसक्ने प्रष्ट पार्नु भयो । नेता डा कोइराला पहिलो संविधान सभा निर्वाचनमा वामपन्थी पार्टीका चार प्रधानमन्त्री नियुक्त भएपनि संविधान निर्माणका लागि नेकां नै आवश्यक परेको विगतमा देखिएको बताउनु भयो । उहाँले कांग्रेस र एमालेको संयुक्त सरकारको निर्माणको पहल आफुले शुरु गरेको चर्चा गर्दै यसले समय आएपछि कार्यान्वयन हुने विश्वास समेत व्यक्त्त गर्नु भयो । उहाँले संयुक्त सरकार निर्माणका लागि नेताहरु, दलवीच, निर्वाचन प्रणाली कसरी सुधार गर्ने विषयमा छलफल गरी निर्णय हुने धारणा राख्नु भयो ।

संघीय सांसद डा कोइरालाले संविधान सुधार, अर्थतन्त्रको चलायमान गराउनु र मुलुकमा राजनीतिक स्थिरता मुख्य आवश्यक्ता रहेको बताउनु भयो । उहाँले कोशी प्रदेश सरकारले अहिले देखि दुई वर्षसम्म विश्वासको मत लिनु पर्ने छैन भन्दै यो सरकार उपधारा ५ अनुसार निर्माण भएकाले जरुरी नभएको बताउनु भयो । उहाँले कोशी सरकार अल्पमतमा समेत नरहेकोले अन्य पार्टीले समर्थन फिर्ता लिए पनि राजीनामा दिनु पर्छ भन्ने छैन, त्यो नैतिकताको कुरा मात्र भएको उहाँको भनाई छ ।