विराटनगर २२ चैत । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै सांग्रीला फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो ।
रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ३–३ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो । सडनडेथमा आशिष चापागाई, अविशेक लिम्बु, उमेश कार्की र किरन राईले गोल गरे । सांग्रीलाका विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहार एपीएफका गोलकिपर एन्जल श्रेष्ठ उत्कृष्ट बचाए ।
एपीएफको तर्फबाट दिपेश धिमाल,कुलदिप कार्कीको प्रहार सांग्रीलाका गोलकिपर बिशाल सुनारले सानदार तरिकाले बचाउ गरिदिए । एपीएफको तर्फबाट अनिस महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासले मात्र गोल गरेका थिए । सांग्रीलाले उपाधिको लागि आज हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र र पाहुना टोली सिक्किम ड्रागन भारतबीच हुने बिजेता टिमसँग खेल्नेछ । सांग्रीलाका गोलकिपर बिशाल सुनार प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैया पुरस्कार पाए ।
जितपछि घरेलु टोली सांग्रीलाका प्रशिक्षक रानु राना मगरले विभागीय टोली बलियो भएपनि पुरा समय हामीले नियन्त्रण गर्न सफल भएको बताए । एपीएफका प्रशिक्षक बुद्धिमान राईले निर्धारित समयमा खेलाडीहरुले पाएको गोल गर्ने अवसर चुकाउँदा पराजय भोग्नु परेको बताए ।