विराटनगर २० चैत । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद मैदानमा सोमबार राती सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो । जितसँगै एपीएफले बुधबार फाइनल प्रवेशको लागि सेमिफाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएसँग खेल्नेछ । जितको लागि एपीएपका प्रदिप लामा र अनिष महर्जनले गोल गरे । हारपछि चर्चब्वाइजका प्रशिक्षक रुबेन राईले टिम सेटको दुई जना खेलाडी गोल्डकप बाहिर हुनुै टोलीको लागि पराजयको अवस्था आएको बताए ।
एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले पछिल्लो दुई भेटमा भएको पराजयको बदला लिन सफल भएको बताए । खेलको म्यान अफ म्याच एपीएफका प्रदिप लामा घोषित भए । उनले नगद ११ हजार पाए ।
गोल्डकपको अन्तिम क्वाटरफाइनलमा मंगलबार मछिन्द्र फुटबल क्लबले भारतको कोलकातास्थित साउर्थन समितिको सामना गर्ने आयोजक गोल्डकप ट्रष्टका सचिव तथा प्रचार प्रसार संयोजक ध्रुव सिग्देलले जानकारी दिए ।