पूर्वाञ्चलको उपकुलपतिका लागि चैत २७ बाट कार्ययोजना प्रस्तुतीकरण हुने

विराटनगर १८ चैत । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि चैत २७ बाट उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने भएको छ ।

उपकुलपतिको नाम सिफारिश गर्न गठित छनोट समितिका अनुसार १७ जना उम्मेदवारको चैत २७, २८ र २९ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रस्तुतीकरण हुनेछ । पहिलो दिन, चैत २७ मा शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल र प्रमोदकुमार झाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुनेछ । चैत २८ मा बिजुकमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल र उमेश कोइरालाको हुनेछ । त्यस्तैगरी चैत २९ मा संजेशकुमार पोख्रेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहालको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुने जनाइएको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा बनेको छनोट तथा सिफारिश समितिले उम्मेदवारको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण सुन्ने छ । यसअघि पूर्व शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको छनोट तथा सिफारिश समितिले १७ जना आवेदकको नामावली सार्वजनिक गरेको थियो ।

१८ आवेदकमध्ये एकजनाको आवेदन अस्वीकृत भएको थियो । फागुन १८ बाट पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पद रिक्त छ ।