कोशी प्रदेश सरकारद्धारा कृषि मूल्य सूचना प्रणालीको शुभारम्भ

विराटनगर १४ चैत । कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालयले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । आज विराटनगरमा मन्त्रालयले एक कार्यक्रममा प्रणाली सार्वजनिक गरेसँगै सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा प्रदेशका उद्योग , कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले मूल्य प्रणाली सार्वजनिक गर्दै नेपाल कृषिप्रधान राष्ट्र भएता कृषिलाई विकास र समृद्धिको माध्यम बनाउन चुकीरहेको बताउनु भएको थियो । खत्रीले प्रदेशमा आवश्यक पर्ने खाद्य वस्तुहरूको उत्पादन प्रदेश भित्र गर्न सफल भए मात्र पनि कोशी प्रदेश समृद्ध हुने बताउनु भएको हो ।

खत्रीले कृषि मूल्य सूचना प्रणालीले कृषकहरूलाई वस्तुको मूल्य र मागको प्रवृति बुझ्न सघाउ पुर्याउदा कृषकहरू उच्च मनोवल साथ माग अनुसार आवश्यक वस्तुको उत्पाउनमा लाग्ने अपेक्षा प्रदेश सरकारले लिएको धारणा समेत व्यक्त गर्नु भएको थियो ।

‘नेपाललाई समृद्ध राष्ट्र बनाउने हो भने कृषिमा लगानी बढाउनु बाहेको विकल्प छैन् ‘ खत्रीले भन्नुभयो , ‘ कृषि क्षेत्रको विकासको लागि केन्द्र सरकार र स्थानिय सरकार बिच संयोजनकारी भूमिका खेल्न प्रदेश सरकार तयार छ ।’

कार्यक्रममा मन्त्रालयका बरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलले हाल सूचना प्रणालीमा कृषि बजार व्यवस्थापन समिति धरान , कृषि बजार व्यवस्थापन समिति बिर्तामोड, कृषि बजार व्यवस्थापन समिति इनरुवा आवद्ध रहेको जानकारी दिनु भएको थियो । त्यस्तै , पालिका स्तरीय कृषि बजारमा सगरमाथा कृषि थोक बजार गाईघाट , कृषि तथा पशुपन्छी बजार दुहबी , दमक नगरपालिकाको नयाँ सब्जी बजार र जल्पादेवी कृषि उपज संकलन केन्द्र धनकुटा समेत प्रणालीमा आवद्ध रहेको पोखरेलले जानकारी दिनु भएको थियो ।

प्रणालीमा आवद्ध कृषि बजारहरुमा हरेक दिन कृषि उत्पादनको मूल्य अध्यावधिक गरिने बताइएको छ ।

मन्त्रालयले स्थापना गरेको प्रणालीको विकास तथा प्राविधिक सहयोगमा नेपाल कृषि बजार विकास कार्यक्रम ( सहज ), साना सिंचाई कार्यक्रम , स्विस विकास सहयोग ( एसडीसी ) रहेका छन् ।