८२९ पदका लागि मोरङमा ४ हजार ३६१ जनाको उम्मेदवारी

विराटनगर, १३ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङबाट ४ हजार बढीको उम्मेदवारी परेको छ । वैशाख ११ र १२ गते दुई दिन गरि १७ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र १५९ वडामा गरि ४ हजार ३६१ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

विराटनगर महानगरपालिका सहित ९ नगर प्रमुख पदको लागि ८६ र ८ वटा गाउँपालिका अध्यक्ष पदको लागि ६३ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थ अधिकारीले बताउनुभयो । उहाँका अनुसार उपप्रमुखमा ७७ र उपाध्यक्षमा ५२ जनाको उम्मेदवारी परेको छ । १५९ वडाध्यक्षका लागि १ हजार १, महिला वडा सदस्यमा ७५४, दलित सदस्यमा ६९६ र खुल्ला सदस्यमा १ हजार ६३२ जनाले उम्मेदवारी दर्ता गरेको सूचना अधिकारी अधिकारीले बताउनुभयो ।

यसैगरी प्रदेश १ का १३७ पालिकाको प्रमुखमा ९ सय ८ जनाले उम्मेदवारी दिएका छन् । एक महानगरपालिका, २ उपमहानगरपालिका र ४६ नगरपालिकाहरुको प्रमुख पदमा उम्मेदवारी दिनको संख्या चार सय १९ पुगेको छ । ८८ गाउँपालिकाको अध्यक्षमा चार सय ८९ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरमा तीन सय ११ र उपाध्यक्षमा तीन सय ९१ गरेर पालिकाको उपप्रमुखमा सात सय दुई जनाले मनोनयन दर्ता गराएका छन् । प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेको संख्या एक हजार छ सय १० पुगेको छ । वडाध्यक्षमा पाँच हजार १७, महिला सदस्यमा तीन हजार आठ सय, दलित महिला सदस्यमा तीन हजार चार सय चार र खुला सदस्यमा आठ हजार ४८ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेश १ भरिबाट २१ हजार आठ सय ७९ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिनुभयो । उनका अनुसार अझै पनि प्राविधिक हिसाबका केही काम बाँकी रहेकाले उम्मेदवारी दिनेको संख्या बढ्न सक्छ ।