विराटनगर ११ चैत । नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई सो निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचनन क्षेत्र खाली भएको थियो । सोही निर्वाचनमा क्षेत्रमा एमालेले उहाँका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कानून व्यवसायीमा रुपमा लागेको सुहाङले यसअघि नै निर्वाचनका लागि आफ्नो गतिविधिलाई अघि बढाइ सक्नुभएको थियो । त्यसैगरी बैठकले बझाङ प्रदेश १ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।
दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ‘यो बैठकले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट पार्टीको तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । र, त्यस्तै गरी बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारी जो हाम्रो पार्टीको जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । र, सिंगो पार्टी शक्ति नेकपा एमालेको विजयी केन्द्रित हुने, गर्ने र अरु पार्टीलाई पनि हाम्रो उम्मेदवारको पक्षमा सहयोग, समर्थन र सदभावका लागि अपिल गर्ने निर्णय पनि गरेको छ ।’
उपमहासचिव ज्ञवालीले भन्नुभयो । एमालेले ऐन महरलाई पार्टी केन्द्रिय सदस्यमा मनोनित पनि गरेको छ । उहाँले पार्टीमा सक्रिय भएर इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले पुन केन्द्रिय सदस्यमा मनोनित गर्ने निर्णय गरिएको पनि पार्टी उपमहासचिव ज्ञवालीले बताउनुभयो ।