विराट गोल्डकप चैत १५ देखि, १० टिमको सहभागिता रहने

विराटनगर ६ चैत । विराटनगरको ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण यही चैत दोस्रो सातादेखि आयोजना गरिने भएको छ । प्रतियोगिता चैत १५ गतेदेखि २४ गतेसम्म विराटनगरको सहिद रंगशालामा सञ्चालन हुने छ ।

यसवर्षदेखि प्रतियोगिता विराट गोल्डकप ट्रष्ट आफैंले आयोजना गर्ने छ । विगतमा बाहिरका व्यक्तिलाई संयोजक तोकेर गोल्डकप आयोजना गर्ने गरिएको थियो । ट्रष्टले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको उपस्थितिमा आज पत्रकार सम्मेलन गरेर आगामी प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको छ । ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले ‘हाम्रो सान, विराटनगरको पहिचान विराट गोल्डकप’ भन्ने मूल नाराका साथ रात्रिकालीन प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले प्रतियोगितालाई भव्य र सभ्य बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार २ वटा भारतीय, १ वटा भुटानी र ३ विभागीयसहित ७ वटा नेपाली गरेर प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा भारतको साउथर्न समिति फुटबल क्लब कोलकाता, सिक्किम ड्रागन क्लब, भुटानको आरटीसी क्लब थिम्पु तथा नेपालका त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, मच्छिन्द्र, एनआरटी, चर्च ब्वाईज क्लब र सांग्रिला मोरङ एफएले सहभागिता जनाउने शाहीले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख ४३ हजार २ सय रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसवर्ष गोल्डकपको पुरस्कार राशि भने झन्डै आधा घटाइएको छ ।

गतवर्ष पुरस्कारवापत विजेतालाई २० लाख १५ हजार र उपविजेतालाई १० लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो । यसवर्ष भने विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख ५० हजार रूपैयाँका दरले पुरस्कार प्रदान गरिने शाहीले बताउनुभयो । उहाँका अनुसार उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रूपैयाँका दरले प्रदान गरिने छ । सर्वाेत्कृष्ट खेलाडीलाई मोटरसाइकल र प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई ११ हजार रूपैयाँ दिइने उनले बताउनुभयो ।

२०१८ सालदेखि महेन्द्र गोल्डकपका नामबाट सञ्चालन हुँदै आएको प्रतियोगिता मुलुकको राजनीतिक परिवर्तनसँगै २०६७ सालदेखि नाम परिवर्तन गरेर विराट गोल्डकप बनाइएको हो ।
………………………