शिक्षादीपद्वारा मोरङ रंगेलीका अग्निपीडितलाई शैक्षिक सामग्री र पोशाक वितरण

विराटनगर ५ चैत । शिक्षादीप कलेज विराटनगरले रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएका विद्यार्थीहरुलाई राहतस्वरुप शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ ।

आज शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले पीडितहरु बसेकै ठाउँमा पुगी विद्यार्थीहरुको पढाइमा सहयोग गर्नका लागि सो राहत सामग्री वितरण गर्नुभएको हो । प्रत्येक विद्यार्थीलाई एउटा झोला, केही कापी, कलम, एक सेट सर्ट–पेन्ट र भेष्ट–पेन्ट वितरण गरिएको थियो । शैक्षिक सामग्री र पोशाक ३१ ज्ना विद्यार्थीहरुलाई वितरण गरिएको कलेजका निर्देशक भूपेन्द्र दाहालले जानकारी दिनुभयो ।

कलेजले समाज प्रतिको उत्तरदायित्व पनि बहनगर्नुपर्छ भन्ने भावना राखेर यसरी विपतमा परेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदानगरिएको प्रिन्सिपल खड्काले बताउनु भयो । किताब कापी जलेर नष्ट भएर पढाइको मेसो हराइरहेको अवस्थामा पाएको समग्रीले पढाइमा ठूलो सहयोग पुग्ने पीडित विद्यार्थीहरुले बताएका छन् ।

शनिवार दिउँसो विद्युतीयतारबाट फैलिएको आगोले बाबुसाहेब टोलका २० घर जलेर नष्ट हुँदा २८ परिवारका एक सय १८ जना विस्थापित भएको जनाइएको छ ।