राष्ट्रिय टी–२० क्रिकेटको उपाधि आर्मीलाई

विराटनगर ३ चैत । विराटनगरमा आज सम्पन्न प्रथम कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाईनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

उपाधिसँगै आर्मीले नगद ५ लाखसहित ट्रफी र उप–विजेता कर्णालीले नगद ३ लाख रुपैयाँ हात पारेको छ । जारी सिजनमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको आर्मीले पहिलो पटक उपाधि चुमेको हो । यस अघि, पिएम कपमा नेपाल पुलिस र केपी ओली कपमा मधेश प्रदेशसँग पराजित भएको थियो ।

कोशी प्रदेश ट्रफीको पहिलो संस्करणको उपाधि हात पार्ने क्रममा कर्णालीले दिएको १ सय ११ रनको लक्ष्य आर्मीले १२ दशमलव २ बलमा १ विकेटको नोक्सानीमा पूरा गरेको थियो । पहिलो विकेटका लागि आर्मीको ओपनर सन्तोष कार्की र ईमरान शेखले २५ रनको साझेदारी गरेका थिए । सन्तोष २१ रनमा क्याच आउट भएपछि मैदानमा प्रवेश गरेका तृतराज दासले आक्रामक शैलीमा जित सुनिश्चित गरे । आर्मीको जितमा शेखले ३० बलमा अविजित ३८ रन र तृतराजले ३३ बलमा अविजित ५० रन बनाए । च्याम्पियनसिपमा पहिलो अर्धशतक बनाएका दासले २ छक्का र ५ चौका प्रहार   गरेका थिए ।

शेख र दासबीच ५४ बलमा ८७ रनको साझेदार गर्दै खेल आफ्नो पक्षमा पारे । कर्णालीका दिनेश अधिकारीले १ विकेट लिए । यस अघि टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १० रनको सामान्य योगफल तयार पारेको थियो ।

आक्रामक सुरूआत गरेको कर्णालीका लागि विपिन रावलले २७ रन बनाउँदा कप्तान रविन्द्र शाहीले २१ रन, मनिस थापाले २१ र दिनेश अधिकारीले १२ रन बनाए । आर्मीका तृतराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान २–२ विकेट लिए । प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट र प्लेयर अफ द फाईनलको पुरस्कार आर्मीका अलराउण्डर दासले हासिल गरे । प्रतियोगिताको उदयमान खेलाडी आर्मीका नितेश पटेल घोषित भए ।

विजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो । गत फागुन २२ गतेबाट शुरू भएको प्रतियोगितामा तीन विभागिय र सात प्रदेशको सहभागिता रहेको आयोजक नेपाल क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीले बताउनुभयो ।