स्टाफ नर्सको हत्या ब्वाई फ्रेन्डले गरेको आशंका

विराटनगर २ चैत । विराटनगरमा डेरा बसेको घरभित्र शव फेला परेकी स्टाफ नर्सको हत्या उनकै ब्वाई फ्रेन्ड (केटा साथी)ले गरेको आशंका गरिएको छ । यद्यपी यसको पुष्टि भइसकेको छैन । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।

विराटनगर महानगरपालिका– ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रबार मध्यान्न १२ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो । दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् ।

डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शव फेला परेको दाहालले बताउनुभयो । उहाँका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि फालेको अवस्थामा शव भेटिएको हो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको दाहालले बताए । शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाई हत्यामा संलग्न फरार भएको प्रहरीले जनाएको छ । मृतकका आफन्त एवं परिवारका सदस्यलाई प्रहरीले घटनाको जानकारी गराइसकेको छ । उनीहरु सिरहाबाट विराटनगर आउने क्रममा रहेको डीएसपी दाहालले बताउनुभयो । अहिलेसम्म शव घटनास्थलमै छ । आफन्त आइपुगेपछि मात्रै पोस्टमार्टमका लागि पठाउने प्रहरीको तयारी छ । तर, यो घटनापछि दासका (ब्वाई फ्रेन्ड) भनिएका युवा सम्पर्कविहीन बनेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिनुभयो ।

मृतकका साथीहरुले प्रहरीलाई दिएको जानकारी अनुसार दास सिरहाको फुल्काहकट्टी नै घर भएका अमिन धानुकसँग प्रेम सम्बन्धमा थिइन् । दासका प्रेमी धानुक अहेब रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनी सिरहाको गोलबजारमा काम गर्छन् । दासको हत्यामा धानुक संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशंका छ । तर, धानुक विराटनगर कहिले आएका थिए भन्ने यकिन भइसकेको छैन ।

घटनाको अनुसन्धानका लागि एसपी कार्की, डीएसपी दाहाललगायतमा प्रहरी अधिकारी खटिएका छन् । प्रहरीको विशेष टोली समेत परिचालन गरिएको छ । एसपी कार्कीले स्टाफ नर्सका प्रेमी भनिएका धानुक सम्पर्कमा आइसकेपछि घटनामा उनको संलग्नता छ कि छैन भनेर यकिन हुने बताउनुभयो ।