राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता : फाइनलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश प्रवेश

विराटनगर २ चैत । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रवेश गरेका छन् ।

मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी प्रतियोगिता अन्र्तगत पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै विभागिय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा पुगेको छ । आर्मीले यस सिजनमा पिएम कप र केपी ओली कप गरि २ पटक फाइनल खेलिसकेको छ । आर्मी पिएम कपमा पुलिससँग र केपी ओली कपमा मधेश प्रदेशसँग पराजित भएको थियो । आज टस हारेर ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ६३ रनको योगफल तयार पारेको थियो ।

जवाफमा १ सय ६४ रनको लक्ष्य पछ्याएको आर्मीले वसिर अहमदको अर्धसतकले १९ दशमलव १ बलमा ५ विकेटको सो विजयी लक्ष्य पार गरेको थियो ।

दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ५१ रनको स्कोर बनाएको थियो । जवाफमा १ सय ५२ रनको लक्ष्य पाएको कर्णालीले १८ दशमलव ५ बलमा ५ विकेट सो विजयी लक्ष्य भेट्टाएको थियो ।

फाइनल खेल भोली दिउँसो १२ बजे हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिनुभयो ।