राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता : नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर ३० फागुन । विराटनगरमा जारी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ ।

पुलिसले विहिबार वागमती विरुद्ध अन्तिम खेलमा राम्रो रन रेटमा खेल जित्नु पर्ने हुन्छ । समुह वी को अंक तालिकामा पुलिसले खेलेको ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

पराजित लुम्बिनी ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकका साथ शिर्ष स्थानमा छ भने सुदूरपश्चिमले ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ५१ रनको योगफल तयार पारेको थियो । जवाफमा १ सय ५१ रनको लक्ष्य पछ्याएको पुलिसले १६ दशमलव ५ बलमा २ विकेट गुमाई लक्ष्य पार गरेको थियो ।

दोस्रो खेलमा विभागिय टोली त्रिभुवन आर्मीले अर्को विभागिय टोली एपिएफलाई ४ विकेटले पराजित गरेको छ । हार पछि एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ । आर्मीले खेलेका ४ वटै खेल जितेर ८ अंकका साथ समुह ए को शिर्ष स्थानमा रहेको छ भने एपिएफ ३ खेलमा २ मा पराजित र १ खेलमा जित हात पार्दै २ अंकका साथ पुछारमा छ ।

टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ३९ रनको स्कोर बनाएको थियो । जवाफमा १ सय ४० रनको लक्ष्य पाएको आर्मीले १८ दशमलव ३ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । विहिबारको पहिलो खेल मधेश प्रदेश र एपिएफ तथा दोस्रो खेल नेपाल पुलिस र वागमती विच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिनुभयो ।