एमाले विराटनगरले ‘म मेरो वडा आफै बनाउँछु’ अभियान चलाउने

विराटनगर २८ फागुन । नेकपा एमाले विराटनगर महानगर कमिटीले ३२ दिने ‘म मरो वडा आफै बनाउँछु’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ । आज बसेको महानगर कमिटीको नवौं पूर्ण बैठकले यो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियान अन्तर्गत संगठन सुदृढीकरण तथा शुद्धिकरण गर्दै वडाहरुको व्यवस्थापन, टोल कमिटी पुनर्गठन, जनसंगठन गठन तथा पुनर्गठन एवम् व्यवस्थापन, भेला बैठक, जनतासँग जनप्रतिनिधी र जनसरोकारका विषयमा खबरदारी लगायतका कार्यक्रमहरु सञ्चालन गरिने महानगरका अध्यक्ष सागर थापाले बताउनुभयो । उहाँका अनुसार एमाले महानगरले १९ वटै वडामा वैसाख मसान्तभित्र वडास्तरीय प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने भएको छ । यस्तै विराटनगर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिको दुई वर्षीय कार्य प्रगति विवरण लिएर जनताको बिचमा जाने समेत निर्णय भएको सचिव रोहित कोइरालाले बताउनुभयो । यसैबिच एमाले महानगर कमिटीले कार्यसम्पादनलाई सहज बनाउन कार्यलय समिति गठन गरेको छ । एमाले महानगरका अध्यक्ष सागर थापा अध्यक्ष, रोहित कोइराला सचिव रहेको ११ सदस्सीय समिति गठन गरेको हो ।

बैठक तथा प्रशिक्षणात्मक कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले जनताका बिचमा उत्कृष्ट कार्यक्रम र योजना लिएर जान निर्देशन दिनुभयो । नेकपा एमालेका हरेक नेता कार्यकर्ता जनताप्रति उत्तरदायी भएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

बैठकमा नेकपा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्कीले जनप्रतिनिधी र पार्टीबिचको अन्तरसम्बन्ध, नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले दशौं राष्ट्रिय महाधिवेशनका फैसलाहरु र पार्टीको आगामी कार्यदिशा, केन्द्रिय सदस्य रामलाल साहले नेता र कार्यकर्ताबिचको सम्बन्ध र हाम्रो दायीत्व, केन्द्रीय सदस्य तथा विराटनगर महानगरका इन्चार्ज हेमराज राईले दक्षिणपन्थि अवसरवाद र सांगठनीक अराजकतालगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।