राष्ट्रिय टी–२० क्रिकेट : विभागिय टोली पुलिस र आर्मी विजयी

विराटनगर २७ फागुन । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।

जितसँगै पुलिस समुह वि मा २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकको साथ तेस्रो स्थानमा उक्लिएको भने गण्डकीले खेलेको तीनवटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ । पुलिस पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४४ रनको स्कोर खडा गरेको थियो । जवाफमा १ सय ४५ रनको लक्ष्य पाएको पुलिसले १९ दशमलव ३ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । दोस्रो खेलमा आर्मीले मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । आर्मीले लगातार दोस्रो जित निकाल्दै समुह १ को शिर्ष स्थानमा उक्लिएको छ ।

आर्मीले यस अघि खेलेको पहिलो खेलमा कर्णालीलाई पराजित गरेको छ । आर्मीले २ खेलमा २ जित निकाल्दै ४ अंकका साथ पहिलो स्थानमा छ भने ३ मा १ खेलमा जित र २ खेलमा पराजित भएको मधेश २ अंकका साथ चौथो स्थानमा यथावत रहेको छ । टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५३ रनको योगफल तयार पारेको थियो । जवाफमा १ सय ५४ रनको लक्ष्य पछ्याएको आर्मीले १६ दशमलव ५ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो ।

सोमबारको पहिलो खेल सुदूरपश्चिम र बागमती तथा दोस्रो खेल घरेलु छोली कोशी र एपिएफविच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष मोहमद साद बाबु कुरैसीले जानकारी दिनुभयो ।