शिक्षकहरुको वतृत्वकलामा सत्यनारायण माविकी तिम्सिना प्रथम

विराटनगर २५ फागुन । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरपालिका स्तरीय विवाहित महिला शिक्षकहरुको वतृत्वकला प्रतियोगितामा सत्यनारायण मावि विराटनगरकी कल्पना तिम्सिना प्रथम हुनु भएको छ ।

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानीयतहका प्रतियोगीहरुलाई पछि पार्दै तिम्सिना प्रथम हुनु भएको हो । त्यसैगरी पब्लिकमावि ग्रामथानकी शशिकला थापा द्वितीय र वुद्धेश्वर मावि जहदाकी मधु झाले तृतीय स्थान हासिल गर्नुभयो । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गोल्स फाउन्डेशन, ओरेक नेपाल, जीवन विकास लघुवित्त वित्तीय संस्थाले संयुक्त रुपमा विराटनगरमा सो प्रतियोगिता आयोजना गरेका थिए ।

प्रारम्भिक चरणमा तोकिएका स्थानीयतहहरुमा सोही तह सँगको सहकार्यमा प्रतियोगिता गराइएको थियो । ती प्रतियोगितामा प्रथम हुनेहरुका बिचमा मार्च ८ आज फाइनल प्रतिस्पर्धा गराइएको गोल्स फाउन्डेशनकी अध्यक्ष पूजा विश्वासले जानकारी दिनुभयो । महिला सशक्तिकरण शीर्षकमा प्रत्येक प्रतियोगीलाई वक्तव्य दिन सात मिनेट समय दिइएको थियो । अध्यक्ष विश्वासका अनुसार प्रतियोगी मूल्याङ्कनका लागि सम्बन्धित क्षेत्रमा कार्यरत तीनजना विज्ञ टोली बनाइएको थियो ।

प्रतियोगिताका विजेताहरुलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता गुरुङले पुरस्कार र प्रमाण पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा राज्यमन्त्री गुरुङले महिला सशक्त नभईकन, महिला आफैँ अगाडि नबढेसम्म समुन्नत समाजको कल्पना गर्न नसकिने बताउनुभयो ।