स्थानीय तहहरुले स्वास्थ्यमा १० प्रतिशत बजेट छुट्याउन आवस्यक

विराटनगर, २४ फागुन । प्रत्येक स्थानीय तहहरुले १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउन सके मात्र आधारभूत स्वास्थ्य सेवा जनतालाई प्रदान गर्न सकिने सरोकारवालाहरुले बताएका छन ।

विराटनगरमा आयोजना गरिएको जनस्वास्थ्यको बहुपक्षिय सवाल विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले पालिकामा १५ बेडको अस्पताल खोलेर विशेषज्ञ सेवा दिनै नसकिने कुरा जनप्रतिनिधिहरुले बुझ्नुपर्ने बताउनुभयो । उहाँले आइसियु संचालन गर्नको लागि २५ या ५० बेडको अस्पताल हुनु पर्ने जानकारी गराउनुभयो । उहाँले जनस्वास्थ्यको समस्या एकातिर र चाहना अर्र्काेतिर हुँदा पनि स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले ५४ सालको ओएण्डएम लिएर काम गर्न नसकिने धारणा राख्नुभयो । उहाँले नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम व्यवस्थित नभए पनि सरकारी अस्पतालमा जानेको संख्या बढेको बताउनुभयो ।

स्वास्थ्य उपचार गर्न जानेहरुको संख्या भने उत्साहित रुपमा बढेको उहाँको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा जनस्वास्थ्यका समस्या, आवश्यकता र पहुँच बारे जानकारी गराइएको थियो । सो कार्यक्रममा कोशी प्रदेशका विभिन्न मन्त्रालयहरु स्वास्थ्य संस्था लगायत विभिन्न कार्यालयहरुका साथै सरोकारवालाहरु निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।