इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता : इलाम र मोरङ फाइनलमा प्रवेश

विराटनगर २३ फागुन । मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा जारी तेस्रो संस्करणको इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेको छ ।

विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको बुधबारको पहिलो खेलमा इलामले सिरहालाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । इलामले लगातार दुई खेलमा जित हात पारेको छ । पहिलो खेलमा सप्तरीलाई पराजित गरेको थियो । हार पछि सिरहा एक खेल खेल्नु अगाडिनै प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १५ ओभरमा सवै विकेट गुमाई ५३ रनको सामान्य योगफल तयार पारेको थियो ।

सिरहाका कुनै पनि ब्याटरले दोहोर स्कोर जोड्न सकेनन् । ५४ रनको सामान्य लक्ष्य पाएको इलामले १० दशमलव १ बलमा ६ विकेट गुमाई भेट्टाएको थियो । दोस्रो खेलमा मोरङले सप्तरीलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । मोरङले लगातार दुई खेलमा जित हात पारेको छ । पहिलो खेलमा सिरहालाई पराजित गरेको थियो । हार पछि सप्तरी एक खेल खेल्नु अगाडिनै प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ७ गुमाई ७३ रनको स्कोर खडा गरेको थियो । ७४ रनको लक्ष्य पछ्याएको मोरङले ८ दशमलव १ बलमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको छ । मोरङलागि सानु राजवंशीले २५ रन बनाउँदा नमिता श्रेष्ठले नटआउट २० रनको योगदान दिइन् ।

भोलीको पहिलो खेल मोरङ र इलाम र दोस्रो खेल सप्तरी र सिरहाविच हुने खेल संयोजक विशाल साहले बताउनुभयो ।