मोरङको धनपालथानमा सशस्त्रका डीएसपी झुन्डिएको अवस्थामा मृत फेला

विराटनगर २१ फागुन । मोरङको धनपालथानमा सशस्त्र प्रहरी बलका डीएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन । सशस्त्रका डीएसपी उपेन्द्र बस्याल आज दिउँसो मृत फेला पर्नु भएको हो ।

नेपाल प्रहरीका अनुसार बस्याल धनपालथान गाउँपालिका–३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख हुनुहुन्थ्यो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाले झुन्डिएको अवस्थामा डीएसपीको शव भेटिएको जानकारी आएको बताउनुभयो । उहाँका अनुसार कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको खबर छ । घटनाका सम्बन्धमा थप जानकारी प्राप्त हुन बाँकी रहेको जानकारी तिमल्सिनाले दिए ।

बस्यालले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि यसको पुष्टि भइसकेको छैन । एसपी तिमल्सिनाले अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने बताउनुभयो । अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ ।

घटनास्थललाई सुरक्षित राखेर प्रहरीले अनुसन्धान थालेको छ सशस्त्र प्रहरीका केही अधिकारी पनि घटनास्थलमा पुगिसकेका छन् ।