दोश्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई

विराटनगर, २० फागुन । विराटनगरमा सम्पन्न दोश्रो राष्ट्रिय डोरी तान प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ ।

दुइदिन सम्म विराटनगरमा संचालन भएको पहिलो राष्ट्रिय डोरीतान प्रतियोगिताको विजेता सशस्त्र प्रहरीलाई हराउदै कोशी प्रदेशले दोश्रो डोरीतान प्रतियोगिता जितेको हो । पहिलो खेल ४५ सेकेण्डमा जितेको कोशीले दोश्रो खेल भने १ मिनेट ७ सेकेण्डमा मात्र जित्न सकेको थियो । जित संगै कोशी प्रदेशले एक लाख नगद र शिल्ड हात पारेको छ ।

दोश्रो भएको सशस्त्र प्रहरीले ५० हजार नगद र शिल्ड जितेको छ । सेमिफाइनलमा कोशी प्रदेशले मधेस प्रदेशलाई हराएर र सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई पराजित गरी फाइनलमा पुगेको डोरी तान संघ कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेले बताउनुभयो ।

सो प्रतियोगितामा ६ सय केजी तौल समूहका ८ जना खेलाडीहरु बीच प्रतिस्पर्धा गराइएको थियो । कोशी प्रदेश डोरी तान संघले आयोजना गरेको सो राष्ट्रिय प्रतियोगितामा सुदुरपश्चिम र गण्डकी प्रदेश बाहेक ५ वटा प्रदेश र तीन वटा विभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ८ वटा टिमले भाग लिएका थिए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विजेता र उपविजेता टिमलाई नगद सहित शिल्ड र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।