विराटनगर सनसारीमाईस्थानको डिप बोरिङ सञ्चालन

विराटनगर १८ फागुन । विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन विराटनगरस्थित सनसारीमाईस्थानमा जडान गरेको डिप बोरिङ सञ्चालनमा ल्याएको छ । महानगरले बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरी जडान गरेको डिप बोडिङमा दमकलबाट परीक्षणसमेत गरेको छ ।

मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरले शुक्रबार बिहान दुईवटा दमकलबाट परीक्षण गरेको हो । जडान गरिएको डिप बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न २० मिनेट र ३ हजार लिटरको ट्यांकी भर्न १२ मिनेट लागेको थियो । महानगरले बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा सो स्थानबाट दमकलमा पानी भर्ने गरी डिप बोरिङ जडान गरेको मेयर कोइरालाले बताउनुभयो । यसअघि बजार र दक्षिणी क्षेत्रमा आगलागी हुँदा पानी भर्न महानगर कार्यालय परिसर र पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता थियो । अब सो स्थानबाट पानी भर्ने व्यवस्था मिलाइएको मेयर कोइरालाले बताउनुभयो । उहाँले अन्य ठाउँमा पनि डिप बोरिङ जडान गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढ्ने गरेको छ । आगलागी नियन्त्रणको पूर्वतयारी स्वरुप महानगरले दमकलमा पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानहरूको छनौट गरी डिप बोरिङ जडान गर्ने कार्य अगाडि बढाएको कोइरालाले बताउनुभयो । जसअन्तर्गत पहिलो चरणमा सनसारीमाईस्थानमा जडान गरिएको छ भने अन्य स्थानमा पनि जडान गर्ने तयारी भइरहेको मेयर कोइरालाको भनाइ छ । अब बजार क्षेत्रमा आगलागी भइहाले समयमै नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने उपमेयर शिल्पा निराला कार्कीले विश्वास व्यक्त गर्नुभयो । उहाँले समयमै पानी भरेर दमकल घटनास्थल पुग्दा क्षति कम हुने बताउनुभयो । डिप बोरिङको क्षमता वृद्धि गरी छोटो समयमै दमकल भर्ने व्यवस्था मिलाइने वारुणयन्त्रको समेत जम्मेवारी सम्हालिरहनुभएका महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताउनुभयो ।

पुष्पलालचोकस्थित वारुणयन्त्रको डिप बोरिङबाट ५ हजार लिटरको ट्यांकी भर्न ५ मिनेट र महानगर परिसरको डिप बोरिङबाट २० मिनेट समय लाग्ने गरेको जानकारी दिनुभयो । ठाउँ–ठाउँमा डिप बोरिङ जडान गरी आगलागी नियन्त्रणको पूर्वतयारी गरेर महानगरले निकै नै प्रशंसनीय कार्य गरेको स्थानीय सहदेव यादवले प्रतिक्रिया दिनुभयो । हेर्दा र सुन्दा सामान्य लागे पनि विराटनगरवासीका लागि महानगरले धेरै नै महत्वपूर्ण कार्य गरेको उहाँको भनाइ थियो ।