विराटनगर १८ फागुन । कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले खेलकुद क्षेत्रको विकासका लागि सरोकारवाला निकायसंग छलफल गरि बजेट तयार पार्ने बताउनु भएको छ । आज मोरङको मिक्लाजुङ गाउपालिकास्थित मनोहर जनता माविमा अन्तरपालिका जिल्लास्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सुनुवारले खेलक्षेत्रलाई ब्यवसायिक रूपमा अघि बढाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
मन्त्री सुनुवारले खेलक्षेत्रलाई कम प्राथमिकतामा राखेर बजेट समेत न्यून बिनियोजन गर्दै आएकोमा गुनासो गर्नुभयो । स्वास्थ मन्त्री सुनुवारले विद्यालयस्तरमा स्वास्थ्यका लागि नर्सिङ कमर्चारी राख्दा छात्रा बिद्यार्थीको सहभागिता बढ्दै गएको बताउनुभयो । कार्यक्रममा मन्त्री सुनुवारले पर्यटन प्रबद्र्धनमा खेलकुदको महत्वपूर्ण योगदान रहने बताए । कार्यक्रममा मिक्लाजुङ गाउपालिकाका अध्यक्ष बबि कुमार राईले बिद्यालयस्तरबाट शिक्षासंगै खेलकुदमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडी, बिद्यालय तथा अभिभावकलाई शुभकामना दिदै गाउपालिका अध्यक्ष राईले खेलकुद क्षेत्रको बिकासमा सबैतहको सहयोगमा हुने बताए । मोरङ जिल्ला खेलकुद बिकास समितिका सदस्य बिनोद डागीले प्रतियोगितामा १४ पालिकाबाट तेक्वान्दो, कराते, उसु, भलिबल, एथलेटिक्स र कपर्दीमा ९ सय १८ जना बिद्यार्थीले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । मोरङका १७ पालिका मध्ये ग्रामथान, जहदा र कटहरी गाउपालिकाको अनुपस्थिति रहेको उहाँले बताउनुभयो ।
प्रतियोगितामा बिराटनगर महानगर, सुन्दरहरैचा, लेटाङ, केराबारी, रतुवामाई, उर्लाबारी, सुनवर्षी, रङ्गेली, बेलबारी, कानेपोखरी, बुढीगंगा, धनपालथान र मिक्लाजुङको सहभागिता रहेको छ ।